समाचार

लुम्बिनी प्रदेशका सांसदहरूसँग प्रधानमन्त्रीको छलफल, विकासदेखि सुशासनसम्मका एजेन्डामा जोड

लुम्बिनी प्रदेशका सांसदहरूसँग प्रधानमन्त्रीको छलफल, विकासदेखि सुशासनसम्मका एजेन्डामा जोड

प्रधानमन्त्री वालेन्द्र शाहले सोमबार लुम्बिनी प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूसँग सिंहदरबारमा विस्तृत छलफल गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा भएको उक्त बैठक बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म चलेको थियो ।छलफलमा चालु आर्थिक वर्ष २०८२ र ८३ भित्र कार्यान्वयन गर्न सकिने कार्यक्रम, दीर्घकालीन पूर्वाधार विकास, कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, सुशासन तथा सामाजिक विषयहरूमा व्यापक बहस भएको थियो । सहभागी सांसदहरूले आ–आफ्ना निर्वाचन क्षेत्रका समस्या, सम्भावना तथा योजनाहरू प्रस्तुत गरेका थिए । छलफलमा अधिकांश सासदहरुले कपिलवस्तु केन्द्रित विकास प्रस्ताव गर्नु भएको थियो । कपिलवस्तु–२ का सांसद विक्रम थापाले ऐतिहासिक तथा धार्मिक महत्व बोकेको तिलौराकोटलाई “स्मार्ट हेरिटेज सिटी” को रूपमा विकास गर्न प्रस्ताव राख्नुभएको थियो । सो योजनाअन्तर्गत तिलौराकोटलाई युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत गराउने, डिजिटल प्रविधिमार्फत ऐतिहासिक अनुभव गराउने तथा अन्तर्राष्ट्रिय अनुसन्धान केन्द्र स्थापना गर्ने योजना अघि सार्नु भएको थियो । यसै गरी, वाणगंगा नदी नियन्त्रण, ५४ किलोमिटर तटबन्ध निर्माण, तथा भारत सरकारको अनुदान सहयोगमा स्वीकृत डीपीआर कार्यान्वयनमा लैजान माग गरिएको थियो ।कृषि क्षेत्रमा कपिलवस्तुमा करिब ६० हजार मेट्रिक टन मल आवश्यक रहे पनि आपूर्ति अत्यन्त न्यून रहेको उल्लेख गर्दै तत्काल आपूर्ति व्यवस्थापनको माग गरिएको छ । उक्त छलफलमा अधिकांश सांसदहरूले बाँदरको कारण उत्पन्न समस्याबारे उठाउनुभएको थियो। उक्त समस्या समाधानका लागि विभिन्न निकाय र विज्ञहरूसँग छलफल गरी समाधानका लागि काम गर्दै आएको गुल्मी क्षेत्र नम्बर १ का सांसद सागर ढकालले बताउनुभएको थियो।सोमबार भएको छलफलमा प्राय सबै सासदहरुले सिँचाइ, खानेपानी र स्वास्थ्य क्षेत्रमा विशेष जोड दिनु भएको थियो । जगदीशपुर तालको क्षमता घट्दै गएको भन्दै यसको पुन: संरचना गरी करिब ६२ सय हेक्टर जमिनमा सिँचाइ विस्तार गर्नुपर्ने विषय उठाइएको छ ।त्यसैगरी,  कपिलवस्तुका विभिन्न पालिकामा आर्सेनिकयुक्त पानीको गम्भीर समस्या रहेको औँल्याउँदै करिब ३० देखि ४५ हजार नागरिक प्रत्यक्ष जोखिममा रहेको गुनासो पनि उक्त छलफलमा उठेको थियो । तत्काल पानी परीक्षण, फिल्टर जडान र दीर्घकालीन रूपमा सतह पानीमा आधारित खानेपानी आयोजना सञ्चालन गर्नुपर्ने माग गरिएको छ । कपिलवस्तु जिल्लामा ७० हजारभन्दा बढी भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोवासी रहेकाले उनीहरूको व्यवस्थापनको विषयमा पनि कुरा उठेको थियो । भूमिहीन, सुकुम्वासी व्यवस्थापनका लागि लालपुर्जा वितरण, एकीकृत बस्ती विकास तथा उत्पादनमुखी कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव अधिकाधिक सासदहरुले राख्नु भएको थियो । लुम्बिनीदेखि तिलौराकोटसम्म २२ किलोमिटर चार लेन सडक तथा मर्यादपुर–तिलौराकोट सडक निर्माणको आवश्यकताका बारेमा पनि सासदहरुले कुरा उठाउनु भएको थियो ।पाल्पा, अर्घाखाँची, प्युठान, रोल्पा हुँदै सल्यान जोड्ने रणनीतिक सडकलाई प्राथमिकतामा राख्न पाल्पाका सांसद सन्दीप रानाले माग गर्नुभयो । साथै, कालिगण्डकी करिडोर, रिङरोड, ग्रामीण सडक स्तरोन्नति तथा पर्यटन मार्ग विकासका विषय पनि उठाउनु भएको थियो । नवलपरासी–२ का सांसद नरेन्द्र कुमार गुप्ताले रामग्राम स्तूप, देवदह लगायत बौद्ध तथा ऐतिहासिक क्षेत्रहरूको एकीकृत विकासको प्रस्ताव गर्नुभयो ।सांसदहरूले मल अभाव, सिँचाइ समस्या, कृषि आधुनिकीकरण, “एक वडा–एक उत्पादन” नीति लागू गर्नुपर्ने माग राख्नु भएको थियो ।शिक्षा क्षेत्रमा प्राविधिक शिक्षालय, डिजिटल शिक्षण प्रणाली तथा विश्वविद्यालय स्तरोन्नतिका विषय उठाइएको छ भने स्वास्थ्य क्षेत्रमा अस्पताल स्तरोन्नति, ट्रमा सेन्टर स्थापना र विशेषज्ञ सेवा विस्तारको माग गरिएको छ । यस्तै, बाँकेका सांसद मोहम्मद इश्तियाक राईले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न सरकारको विशेष पहल आवश्यक रहेको बताउनुभयो । सीमावर्ती क्षेत्रमा अपराध नियन्त्रण तथा निगरानी सुदृढ गर्नुपर्नेमा समेत उहाँले जोड दिनु भएको थियो । कपिलवस्तुको चुरे–भावर क्षेत्र संरक्षणसँगै पर्यटन विकास गर्ने नीति आवश्यक रहेको उल्लेख गरिएको छ । इको–टुरिजम, ट्रेकिङ, होमस्टे तथा जडीबुटी आधारित अर्थतन्त्र विकास गर्ने सम्भावना प्रस्तुत गरिएको छ । छलफलमा सुशासन प्रवर्द्धनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पुनर्संरचना, स्वतन्त्र भ्रष्टाचार नियन्त्रण निकाय गठन तथा अन्तर्राष्ट्रिय अभ्यास अध्ययन गर्ने विषय पनि सासदहरुले कुरा उठाउनु भएको छ । प्रधानमन्त्री शाहले सांसदहरूले उठाएका विषयहरूलाई प्राथमिकताका आधारमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । संघ, प्रदेश र स्थानीय तहबिच समन्वय गर्दै लुम्बिनी प्रदेशको समग्र विकासलाई अघि बढाउने निष्कर्षसहित बैठक सम्पन्न भएको थियो ।

२०८२ चैत २३ ourdamak
झापाबासीलाई गाली गर्ने रवि चुँडालविरुद्ध किटानी जाहेरी: प्रहरीद्वारा खोजी कार्य तीव्र

झापाबासीलाई गाली गर्ने रवि चुँडालविरुद्ध किटानी जाहेरी: प्रहरीद्वारा खोजी कार्य तीव्र

दमक, झापा । झापा क्षेत्र नम्बर ५ को निर्वाचन परिणामपछि सामाजिक सञ्जालमार्फत झापाबासी र विशेषगरी दमकका बासिन्दाहरूलाई लक्षित गरी घृणास्पद एवं अपमानजनक अभिव्यक्ति दिने रवि चुँडाल (हरि प्रसाद चुँडाल) विरुद्ध इलाका प्रहरी कार्यालय दमकमा औपचारिक रूपमा किटानी जाहेरी दर्ता गरिएको छ।दमकका स्थानीय युवाहरू पारसमणि आचार्य र शेखर खड्काले संयुक्त रूपमा चुँडालविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार सम्बन्धी कसुर तथा सार्वजनिक नैतिकता विरुद्धको अपराधअन्तर्गत कारबाहीको माग गर्दै जाहेरी दिनुभएको हो। जाहेरी दर्ता भएको २९ घण्टा बितिसक्दा प्रहरीले चुँडालको खोजी कार्यलाई तीव्रता दिएको जानकारी प्राप्त भएको छ।के हो मुख्य घटना?गौरादह नगरपालिका वडा नं. ५ निवासी चुँडालले टिकटक, फेसबुक र युट्युब जस्ता माध्यमबाट भिडिओ सार्वजनिक गर्दै दमकबासीलाई 'चोर', 'अपराधी' र 'दुष्ट' जस्ता निकै तल्लो स्तरका शब्द प्रयोग गरी गालीगलौज गरेका थिए। यसअघि बालेन शाहले चुनाव जिते 'दिसा खाने' भनी चर्चामा आएका उनले यसपटक सामाजिक सद्भावमा खलल पुर्‍याउने गरी अभिव्यक्ति दिएपछि दमकका युवाहरू कानुनी उपचारमा उत्रिएका हुन्।साइबर अपराधमा पनि उजुरी प्रहरी कार्यालयमा बुझाइएको जाहेरीमा चुँडालले प्रयोग गरेका शब्दहरूले समाजमा सुन्नै नसकिने र जातजाति एवं सम्प्रदायबीचको मधुर सम्बन्धलाई बिगार्ने प्रयास गरेको उल्लेख छ। यस विषयलाई साइबर क्राइम ब्यूरोमा समेत दर्ता गराइएको छ।जाहेरीकर्ताहरूले भन्नुभएको छ, "समाजमा गलत कुरा देख्दा चुप बस्नु पनि गलत नै हो। सत्य र न्यायको पक्षमा उभिनु हाम्रो जिम्मेवारी हो, त्यसैले हामीले यो कानुनी कदम चालेका हौँ।"हाल फरार रहेका चुँडालको खोजीका लागि इलाका प्रहरी कार्यालय दमकले विशेष सक्रियता देखाएको छ। प्रहरीले यसलाई गम्भीर साइबर अपराधको रूपमा लिएर अनुसन्धान अघि बढाएको छ।

२०८२ फागुन २८ ourdamak
दमकमा ३ दिने ‘दल नायक तालिम’ सम्पन्न

दमकमा ३ दिने ‘दल नायक तालिम’ सम्पन्न

दमक, झापा । दमक स्थानीय स्काउट कार्यालयको आयोजनामा सञ्चालित तीन दिने 'दल नायक तालिम २०८२' भव्य रूपमा सम्पन्न भएको छ। दमक-२ स्थित श्री सरस्वती आधारभूत विद्यालयमा गत फागुन १ गतेदेखि सुरु भएको उक्त तालिम फागुन ३ गते एक विशेष समारोहका बीच सम्पन्न भएको हो।समापन कार्यक्रम सरस्वती आधारभूत विद्यालयका व्यवस्थापन समिति अध्यक्ष रमेश प्रसाद गुरागाईंको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। तालिममा दमक स्थानीय प्रमुख आयुक्त साजन श्रेष्ठ र राष्ट्रिय प्रशिक्षक शकुन्तला सुब्बाले कोर्ष लिडरको रूपमा प्रशिक्षण प्रदान गर्नुभएको थियो। समापन सत्रमा बोल्दै राष्ट्रिय प्रशिक्षक सुब्बाले दमक तथा झापा स्काउटको ऐतिहासिक पृष्ठभूमि र यसको महत्वबारे प्रकाश पार्नुभएको थियो।तालिममा दमक नगरपालिकाका १६ दल र पथरी शनिश्चरे नगरपालिकाका ४ दल गरी कुल २० दलको सहभागिता रहेको थियो। जसमा १७ छात्रा र १७ छात्र गरी जम्मा ३४ जना स्काउटहरूले सक्रियतापूर्वक भाग लिएका थिए। तीन दिनसम्म चलेको यस तालिममा सहभागीहरूलाई व्यवहारिक शिक्षा, व्यक्तित्व विकास, र प्रभावकारी रूपमा दल सञ्चालन गर्ने सम्बन्धी विभिन्न सीपहरू सिकाइएको थियो।समापनका अवसरमा सहभागी स्काउटहरूले तालिमबाट प्राप्त अनुभव र यसले आफ्नो व्यक्तित्व विकासमा पुर्‍याएको फाइदाबारे धारणा राखेका थिए। स्काउटिङ अभियानलाई स्थानीय तहमा थप सुदृढ बनाउन र दक्ष नेतृत्व उत्पादन गर्न यो तालिम प्रभावकारी रहने आयोजकको विश्वास छ।

२०८२ फागुन ४ ourdamak
पाँचथरको दशमी बजारमा ७६औँ ऐतिहासिक प्रजातन्त्र दिवस मेला लाग्ने

पाँचथरको दशमी बजारमा ७६औँ ऐतिहासिक प्रजातन्त्र दिवस मेला लाग्ने

पाँचथर । पाँचथरको तुम्बेवा र मिक्लाजुङ गाउँपालिकाको सङ्गम स्थल दशमी बजारमा आगामी फागुन ६ गतेदेखि ९ गतेसम्म ७६औँ ऐतिहासिक प्रजातन्त्र दिवस मेला २०८२ भव्य रूपमा आयोजना हुने भएको छ। दशमी बजार व्यवस्थापन समितिको आयोजना तथा संयुक्त युवा फूलबारी समूह र अरुणिमा युवा क्लबको सह-आयोजनामा लाग्न लागेको यस मेलामा विविध साङ्गीतिक कार्यक्रम र कलाकारहरूको विशेष उपस्थिति रहनेछ। मेलाको मुख्य आकर्षणका रूपमा फागुन ८ गते विशेष सांस्कृतिक तथा साङ्गीतिक कार्यक्रम आयोजना गरिनेछ, जसमा चर्चित राष्ट्रिय कलाकारहरू अशोक मुकारुङ राई, पवित्रा किराँती, प्रितिका बेघा लिम्बु, अमृत लिम्बु, पारस राई र अनिल थुलुङ लगायतको बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ। साथै 'द भ्वाइस अफ नेपाल'का प्रतिस्पर्धीहरू र स्थानीय कलाकारहरूले पनि आफ्नो प्रतिभा प्रदर्शन गर्नेछन्।मेलाको अवसरमा विभिन्न खेलकुद प्रतियोगिताहरू समेत सञ्चालन गरिनेछ। फागुन ४ गतेदेखि नै सुरु हुने पुरुष नकआउट फुटबल प्रतियोगिताको प्रथम पुरस्कार ५० हजार रुपैयाँ र द्वितीय पुरस्कार २५ हजार रुपैयाँ रहेको छ, जसमा छिमेकी गाउँपालिकाका वडा स्तरीय टोलीहरूले प्रतिस्पर्धा गर्नेछन्। त्यस्तै फागुन ११ गतेदेखि सुरु हुने ब्याडमिन्टन प्रतियोगितामा विभिन्न लेभलका लागि १५ हजार, १० हजार र ८ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ। मेलाको कार्यतालिका अनुसार फागुन ७ गते औपचारिक उद्घाटनसँगै विभिन्न जातजातिका झाँकी प्रदर्शन गरिनेछ भने ८ गते साङ्गीतिक धमाका र ९ गते समापन समारोहका बीच पुरस्कार वितरण गरिनेछ। ऐतिहासिक प्रजातन्त्र दिवसको अवसरमा आयोजना गरिएको यस मेलाले स्थानीय कला, संस्कृति र खेलकुदको प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजक समितिका अध्यक्ष रवि बहादुर राईले व्यक्त गर्नुभएको छ।

२०८२ फागुन ४ ourdamak
महाशिवरात्रि विशेष: दमकका शिवालयहरूमा भक्तजनको घुइँचो, पशुपति मन्दिरमा विशेष रौनक

महाशिवरात्रि विशेष: दमकका शिवालयहरूमा भक्तजनको घुइँचो, पशुपति मन्दिरमा विशेष रौनक

दमक, झापा । आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजा-आराधना गरिने पवित्र पर्व महाशिवरात्रि आज देशभरका शिवालयहरूसँगै दमकमा पनि हर्षोल्लासका साथ मनाइँदैछ। दमकका मुख्य धार्मिक स्थलहरूमा बिहानैदेखि श्रद्धालु भक्तजनहरूको ठूलो उपस्थिति रहेको छ।विशेषगरी दमक-६ मा अवस्थित पशुपति मन्दिर (सिद्धकामेश्वर मुक्तिधाम) र धनेश्वर पाञ्चायन मन्दिरमा बिहानैदेखि दर्शनार्थीहरूको लामो लाइन लागेको छ। मन्दिर परिसरहरूमा शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउँदै दर्शन गर्नेहरूको भिड देखिएको छ। फाल्गुन कृष्ण चतुर्दशीको मध्यरातमा भगवान् शिवको उत्पत्ति भएको विश्वासका साथ आजको दिनलाई 'शिवरात्रि' भनिएको हो।पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज मध्यरातमा चतुर्दशी तिथि परेकाले आइतबार नै महाशिवरात्रि मनाउने निर्णय गरिएको हो। दमकका मन्दिरहरूमा दर्शनार्थीको चापलाई ध्यानमा राख्दै स्वयंसेवक र सुरक्षाकर्मीहरू समेत परिचालन गरिएको छ।

२०८२ फागुन ३ ourdamak
पाथीभरामा सात महिनामा एक लाख १३ हजार बढी भक्तजनद्वारा दर्शन

पाथीभरामा सात महिनामा एक लाख १३ हजार बढी भक्तजनद्वारा दर्शन

दमक, झापा । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन गर्ने भक्तजनको सङ्ख्या चालु आर्थिक वर्षको सात महिनामा एक लाख १३ हजार बढी पुगेको छ। पाथीभरा क्षेत्र विकास समितिका अनुसार साउनदेखि माघ मसान्तसम्मको अवधिमा कुल १ लाख १३ हजार ४९९ जना भक्तजनले माता पाथीभराको दर्शन गरेका छन्। पाथीभरा दर्शनका लागि मुख्य सिजन मानिने दशैँ र तिहारको समयमा सबैभन्दा बढी भक्तजनको घुइँचो लागेको थियो। समितिको तथ्याङ्क अनुसार कात्तिक महिनामा सबैभन्दा बढी ४२ हजार २६१ जना र असोजमा २९ हजार १७४ जनाले दर्शन गरेका थिए। त्यस्तै मङ्सिरमा १९ हजार १८१, माघमा १० हजार ३२३, पुसमा ५ हजार ९११ र भदौमा ४ हजार ५०३ जना भक्तजन धाम पुगेका थिए भने साउन महिनामा सबैभन्दा न्यून २ हजार १४६ जनाले मात्र दर्शन गरेका थिए।समुद्र सतहदेखि ३,७९४ मिटरको उचाइमा अवस्थित यस धाममा नेपालका विभिन्न जिल्लासहित भारतको सिक्किम, दार्जिलिङ र पश्चिम बङ्गालबाट समेत ठूलो सङ्ख्यामा तीर्थयात्री आउने गरेका छन्। हिउँद याममा चिसोका कारण दर्शनार्थीको सङ्ख्या केही घटे पनि फागुन लागेसँगै र चैते दशैँ अर्थात् रामनवमी नजिकिँदै गर्दा भक्तजनको चाप पुनः बढ्ने समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले जानकारी दिनुभयो। भक्तजनको आवागमनसँगै पाथीभरामा भेटी सङ्कलन पनि उल्लेख्य भएको छ। चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा पाथीभरामा कुल २ करोड ६ लाख ८८ हजार १०० रुपियाँ भेटी रकम सङ्कलन भएको समितिले जनाएको छ।

२०८२ फागुन २ ourdamak