राष्ट्रिय

घाइतेको ज्यान जोगाउनु, बेपत्ताको खोजी र प्रभावितलाई सुरक्षा दिनु सरकारको पहिलो प्राथमिकता: प्रधानमन्त्री

घाइतेको ज्यान जोगाउनु, बेपत्ताको खोजी र प्रभावितलाई सुरक्षा दिनु सरकारको पहिलो प्राथमिकता: प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको अहिलेको पहिलो प्राथमिकता घाइतेहरूको ज्यान जोगाउनु, बेपत्ता भएकाहरूको खोजी गरिनु र प्रभावित मानिसहरूलाई सुरक्षा दिनु रहेको बताउनुभएको छ । आज सामाजिक सञ्जालमार्फत बाढी प्रभावित क्षेत्र तथा अन्य क्षेत्रका नागरिकहरूलाई अपिल गर्दै सरकारले सम्पूर्ण ध्यान उद्धार, खोजी र राहतमा खर्चिएको बताउनुभएको हो ।“आज म अत्यन्तै भारी मन लिएर तपाईँहरूमाझ उभिएको छु । आज बिहान रसुवाको भोटेकोशी नदीमा अचानक आएको भीषण बाढीले पुर्‍याएको ठूलो मानवीय र भौतिक क्षतिले सिङ्गो देशलाई नै स्तब्ध र मर्माहत बनाएको छ । प्राकृतिक विपद्को यो अप्रत्याशित बज्रपातले हाम्रा धेरै दाजुभाइ, दिदीबहिनी र साना–साना बालबालिकाहरूलाई गहिरो पीडामा धकेलेको छ”, उहाँले भन्नुभएको छ ।प्रधानमन्त्री शाहका अनुसार बाढीका कारण हालसम्म ९५ जनाले ज्यान गुमाइसक्नुभएको छ । “म नेपाल सरकार र व्यक्तिगत तर्फबाट ज्यान गुमाउनुहुने ती सम्पूर्ण मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । आफ्नो मान्छे, आफ्नो परिवार र सर्वस्व गुमाएर शोकमा डुब्नुभएका ती दाजुभाइ तथा दिदीबहिनीहरूमा गहिरो समवेदना व्यक्त गर्दछु । तपाईँहरूको यो असह्य पीडामा सिङ्गो नेपाल सरकार र सम्पूर्ण देशवासी साथमा छौँ । बाढीमा परी घाइते हुनुभएका र अस्पतालमा उपचार गराइरहनुभएका सबै नागरिकहरूको छिटोभन्दा छिटो स्वास्थ्य लाभको कामना गर्दछु”, उहाँले भन्नुभएको छ । उहाँले दुःखद् खबर पाउनासाथ सरकारले ढिला नगरी आफ्ना सम्पूर्ण शक्ति र संयन्त्रहरूलाई हजारौँको सङ्ख्यामा उद्धार कार्यमा परिचालन गरेको समेत उल्लेख गर्नुभएको छ ।बाढी गएलगत्तै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आकस्मिक बैठक बस्यो । त्यसलगत्तै राष्ट्रिय परिषद्को बैठक र मन्त्रिपरिषद्को बैठक समेत बसेर उद्धार, खोज र राहत कार्यलाई कसरी तीव्र बनाउने भन्नेबारे महत्त्वपूर्ण निर्णयहरू गरिएको उहाँको भनाइ छ । बाढी प्रभावित क्षेत्रमा नागरिकहरूको ज्यान जोगाउन र खोजतलास गर्न नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका टोलीहरूलाई तत्कालै मैदानमा उतारिएको प्रधानमन्त्री शाहले जानकारी दिनुभयो ।प्रधानमन्त्री शाहका अनुसार  घाइते नागरिकहरूको सहज र निःशुल्क उपचारका लागि काठमाडौँको वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा १०० वटा शय्या छुट्याइएको छ । उपत्यकाका अन्य सबै ठूला अस्पतालहरूलाई पनि जुनसुकै बेला घाइतेको उपचारका लागि तयारी अवस्थामा राखिएको छ । सरकारले प्रभावित क्षेत्रमै मेडिकल टिम खटाएर घाइतेहरूको उद्धार र प्राथमिक उपचार गरिरहेको छ । काठमाडौँको राष्ट्रिय ट्रमा सेन्टर, विभिन्न सुरक्षा निकायहरूबाट चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली तत्कालै पठाइएको छ । यस्तै, नेपाल स्काउट, विश्व स्वास्थ्य सङ्गठनलगायत निकायबाट पनि चिकित्सक, उद्धारकर्मी र स्वास्थ्य सामग्री बाढी प्रभावित क्षेत्रमा पठाइसकिएको छ । आपत्कालीन स्वास्थ्य सेवा, औषधी र रगतको अभाव नहोस् भनेर रक्तसञ्चार केन्द्र, बागमती र गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रालयहरू, नेपाल रेडक्रस सोसाइटी, लायन्स क्लब र नेपाल स्काउटजस्ता सङ्घसंस्थाहरूसँग निरन्तर समन्वय भइरहेको छ ।बाढीग्रस्त क्षेत्रका सङ्घीय सांसदहरूसँग हामीले परामर्श गरी स्थानीय तहमा कहाँ के सहयोग आवश्यक छ, सोही अनुसार सहजिकरण गरिरहेका छौँ । घाइतेहरूको थप विवरण सङ्कलन गर्ने काम अझै निरन्तर जारी छ ।यो विपद्बाट नागरिकलाई बचाउन र उहाँहरूको जनजीवन सामान्य बनाउन सरकार लागिरहनेछ । बाढीमा हराइरहेका नागरिकहरूको खोजतलासलाई अझ तीव्र पारिनेछ । घाइतेहरूको पूर्ण विवरण र बाढीले पुर्‍याएको क्षतिको विस्तृत विवरण सङ्कलन गरिनेछ । आज रातभर पनि उद्धार कार्य जारी नै रहने उहाँको भनाइ छ ।“नुवाकोटको विदुर, रसुवाको उत्तरगया र गोसाइँकुण्ड, धादिङको गजुरी, गल्छी, बेनीघाट, त्रिपुरासुन्दरी र सिद्धलेख तथा गोरखाको शहीद लखन र गण्डकी गाउँपालिका बाढीबाट बढी प्रभावित भएका छन् । यी सबै क्षेत्रका पीडित परिवारहरूसम्म खानेकुरा, सफा खानेपानी, औषधी र अस्थायी बसोबासको व्यवस्था तुरुन्त पुर्‍याइने छ”, प्रधानमन्त्री शाहले भन्नुभएको छ ।बाढीका कारण भत्किएका सडक, पुल, बिजुली र खानेपानीका आयोजनाहरूलाई प्राथमिकताका साथ पुनर्निर्माण गरी जनजीवनलाई पुनः पुरानै अवस्थामा फर्काइनेछ । विस्थापित भएका परिवारहरूलाई सुरक्षित स्थानमा पुनःस्थापना गरिनेछ उहाँको भनाइ छ ।प्रधानमन्त्री शाहले भन्नुभएको छ, “तपाईँहरूले भोग्नुपरेको पीडा र गुमाएको क्षति सानो छैन । तर म तपाईँहरूलाई विश्वास दिलाउन चाहन्छु—यो कठिन घडीमा तपाईँहरू एक्लो हुनुहुन्न । राज्य आफ्ना सम्पूर्ण साधन र स्रोतका साथ तपाईँहरूकै साथमा छ । कृपया धैर्य धारण गर्नुहोला । तपाईँहरूको उद्धार, उपचार, खानपिन र बसोबासको पूर्ण जिम्मेवारी सरकारले लिन्छ ।” यस्तो विपद्को बेला हामी सबै एक ढिक्का हुन आग्रह गर्दै उहाँले सम्पूर्ण सामाजिक सङ्घसंस्था, उद्योगी–व्यवसायी, युवा स्वयंसेवक र आम नागरिकहरूलाई सरकारले चलाएको राहत र उद्धार अभियानमा आ–आफ्नो ठाउँबाट हात बढाउन र सहयोग गर्न हार्दिक अनुरोध समेत गर्नुभएको छ । रासस

२०८३ भदौ १० ourdamak
भोटेकोशी बाढी: हालसम्म ९५ जनाको मृत्यु

भोटेकोशी बाढी: हालसम्म ९५ जनाको मृत्यु

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीका कारण साँझ ५ः४५ बजेसम्म ९५ जनाको मृत्यु भएको पुष्टि भएको छ । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्कअनुसार २७ जना महिला, ३७ जना पुरुष, ६ जना बालिका, ५ बालक र पहिचान नखुलेका २० जनाको शव फेला परेको छ । जसमध्ये रसुवामा १ जनाको पुरुषको शव फेला परेको छ । नुवाकोटमा ५ जना महिला र ६ जना पुरुष गरी ११ जनाको शव फेला परेको छ । धादिङमा ११ महिला, ५ पुरुष, २ ९पहिचान नखुलेको० गरी १८ जनाको शव फेला परेको प्रहरीले जनाएको छ । गोरखामा एक महिला, ४ पुरुष र एक बालक र १० जना ९पहिचान नखुलेको०को शव  फेला परेको छ । चितवनमा १० महिला, १० पुरुष, २ बालिका, ३ बालक र ८ जना (पहिचान नखुलेका)को शव भेटिएको छ । प्रहरीका अनुसार तनहुँमा ३ जना पुरुष, १ जना बालिका र १ जना बालकको शव फेला परेको छ भने नवलपरासीपूर्वमा ८ जना पुरुष र ३ जना बालिकाको शव फेला परेको छ । ६३ जना उपचाररतनेपाल प्रहरीका अनुसार बाढीमा परी घाइते भएका ६३ जनाको उद्धार गरी हाल विभिन्न अस्पतालमा उपचार भइरहेको छ । जसमा महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा २१ जना, राष्ट्रिय ट्रमा सेन्टरमा ७ जना, वीरेन्द्र सैनिक छाउनी अस्पतालमा १ जना, रसुवा अस्पतालमा २१ जना र त्रिशूली अस्पतालमा १६ जना, नर्भिक अस्पतालमा ३, ग्रीनसिटी अस्पतालमा १ जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।नेपाल प्रहरीका अनुसार टिमुरेबाट १०, रसुवागढीबाट , स्याफ्रुबेँसीबाट ३, मैलुङबाट ५, बेत्रावतीबाट एक जना र हाकुबाट एक जना गरी २ जना प्रहरी सम्पर्कविहीन छन् । रासस

२०८३ भदौ १० ourdamak
राष्ट्रपतिद्वारा उद्धार, खोज र राहतमा सबै संयन्त्र परिचालन गर्न प्रधानमन्त्रीलाई आग्रह

राष्ट्रपतिद्वारा उद्धार, खोज र राहतमा सबै संयन्त्र परिचालन गर्न प्रधानमन्त्रीलाई आग्रह

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहान रसुवाको भोटेकाेशी नदीमा आएको बाढी पहिरोले तटीय क्षेत्रमा भएको विपत्तिमा परेका नागरिकको खोज, उद्धार र राहतको कार्यमा राज्यका सबै संयन्त्र परिचालन गर्न प्रधानमन्त्री वालेन्द्र शाहलाई आग्रह गर्नुभएको छ ।राष्ट्रपति पौडेलले आज साँझ टेलिफोन कुराकानीमा प्रधानमन्त्री शाहसँग रसुवा बाढी पहिरोबाट भएको जनधनको क्षतिबारे जानकारी लिँदै पीडामा परेका जनताको उद्धार, राहत र खोज कार्यलाई तीव्रता दिन राज्यका सबै अङ्ग परिचालनका लागि आग्रह गर्नुभएको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो । सो अवसरमा प्रधानमन्त्री शाहले रसुवामा आएको बाढीले पारेको जनधनको क्षतिबारे राष्ट्रपतिलाई जानकारी दिँदै सरकारले नागरिकको सहयोग, उद्धार राहतका लागि राज्यका सबै संयन्त्र परिचालन गरी हर सम्भव सबै सहयोग जुटाउन कुनै कमी नगर्ने जानकारी दिनुभएको पनि प्रेस सल्लाहकार पोखरेलले  बताउनुभयो ।  यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा, नुवाकोट हुँदै बहने भोटेकोशी नदीमा आज बिहान अकस्मात् आएको बाढीबाट भएको धनजनको क्षतिको खबरले आफूलाई अत्यन्त दुःखी बनाएको बताउनुभएको थियो । उहाँले विपद्को यस घडीमा उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक सङ्घसंस्था, सुरक्षासहित सम्पूर्ण निकाय र आम नागरिकलाई आव्हान गर्नुभएको थियो । साथै, तल्लो तटीय क्षेत्रका सर्वसाधारणलाई सर्तक रहँदै आवश्यक समन्वय एवम् सहयोगमा जुट्न पनि उहाँले आग्रह गर्नुभएको थियो 

२०८३ भदौ १० ourdamak
देवानगञ्ज घटनामा ६ बुँदे सहमति, शहीद घोषणा प्रक्रिया अघि बढाइने, परिवारलाई जनही १० लाख राहत

देवानगञ्ज घटनामा ६ बुँदे सहमति, शहीद घोषणा प्रक्रिया अघि बढाइने, परिवारलाई जनही १० लाख राहत

दमक। सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनामा मृत्यु भएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवार तथा गृह मन्त्रालयबीच शुक्रबार बिहान ६ बुँदे सहमति भएको छ। रातभर चलेको वार्तापछि बिहान करिब ५:१५ बजे सहमतिपत्रमा हस्ताक्षर भएको हो।सहमतिपत्रअनुसार नेपाल सरकारले मृतकहरूलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने प्रतिबद्धता जनाएको छ। साथै मृतकका परिवारलाई नेपाल सरकारको तर्फबाट जनही १० लाख रुपैयाँ राहत उपलब्ध गराइने उल्लेख गरिएको छ।त्यस्तै, २०८३ साउन १० गते राति देवानगञ्ज–३, कप्तानगञ्जमा भएको घटनाको निष्पक्ष तथा प्रभावकारी छानबिन गरी दोषीउपर प्रचलित कानुनबमोजिम आवश्यक कारबाही प्रक्रिया तत्काल अघि बढाइने सहमति भएको छ। घटनास्थित मदरसाको कानुनी हैसियत तथा सम्बन्धित विषयवस्तुबारे आवश्यक छानबिन तत्काल सुरु गरिने पनि सहमतिमा उल्लेख छ।सहमतिअनुसार प्रत्येक मृतकका परिवारबाट एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराइनेछ। साथै घटनाको अध्ययनका लागि गठित छानबिन समितिले पेश गर्ने प्रतिवेदनका सुझाव तथा सिफारिसहरू प्रचलित कानुनबमोजिम यथाशीघ्र कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढाइने सहमति भएको छ।यस्तै, मृतकहरूको सम्झनामा देवानगञ्ज गाउँपालिकाको उपयुक्त स्थानमा स्थानीय सरकारसँग समन्वय गरी स्मृति पार्क निर्माण गरिने सहमतिपत्रमा उल्लेख गरिएको छ। गृहमन्त्री सुदन गुरुङ र मृतक दुवै परिवारका अभिभावकबीच भएको उक्त सहमतिपत्रमा शुक्रबार बिहान हस्ताक्षर गरिएको हो। सहमतिसँगै घटनापछि उत्पन्न तनाव समाधानतर्फ अघि बढेको बताइएको छ।

२०८३ साउन १५ ourdamak