दमक। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको सक्रिय सहभागिताले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि र प्रतिष्ठा थप उकासिएको सरकारले जनाएको छ।

महासभामा सहभागी भएर प्रधानमन्त्री बालेन शाह शनिबार स्वदेश फर्किएका छन्। मंगलबार साँझ संयुक्त राज्य अमेरिकाको न्युयोर्क प्रस्थान गरेका प्रधानमन्त्री शाह महासभामा सहभागिता जनाएर फर्किएका हुन्।

प्रधानमन्त्रीको भ्रमणबारे जानकारी दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका निमित्त सचिव गणेशप्रसाद ढकालले महासभामा नेपालको सहभागिता प्रभावकारी रहेको बताए। मन्त्रालयले जारी गरेको विज्ञप्तिमा पनि नेपालको सहभागिताले अन्तर्राष्ट्रिय स्तरमा देशको छवि र प्रतिष्ठा अभिवृद्धि गर्न योगदान पुगेको उल्लेख गरिएको छ।

महासभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री शाहले हालै भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीलाई जलवायु परिवर्तनका कारण बढ्दै गएको संकटको उदाहरणका रूपमा प्रस्तुत गरेका थिए। विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान ०.१ प्रतिशतभन्दा कम भए पनि जलवायु परिवर्तनका गम्भीर असर नेपालले भोगिरहेको उनको भनाइ थियो।

प्रधानमन्त्री शाहले जलवायु परिवर्तनलाई वातावरणीय चुनौतीमा मात्र सीमित नराखी मानवीय तथा विकाससम्बन्धी गम्भीर संकटका रूपमा सम्बोधन गर्नुपर्ने धारणा राखेका थिए। हिमाल तथा पर्माफ्रोस्ट पग्लिँदा बढिरहेको हिमपहिरो र बाढीको जोखिम न्यूनीकरणका लागि ‘हिमालयन क्लाइमेट रेसिलेन्स मेकानिजम’ स्थापना गर्न उनले अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्ताव गरेका थिए।

त्यसैगरी जोखिममा रहेका हिमतालको नियमित निगरानी, पूर्वसूचना प्रणालीको आधुनिकीकरण तथा सीमापार सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिएका थिए।

जलवायु न्यायको विषय उठाउँदै प्रधानमन्त्री शाहले ऐतिहासिक रूपमा बढी हरितगृह ग्यास उत्सर्जन गरेका विकसित मुलुकले थप जिम्मेवारी लिनुपर्ने बताएका थिए। ‘हानि तथा नोक्सानी कोष’ लगायतका जलवायु वित्तीय संयन्त्रमार्फत अनुदानमा आधारित स्रोत परिचालन सहज बनाउन पनि उनले आग्रह गरेका थिए।

भ्रमणका क्रममा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेससँग भेटवार्ता गरेका थिए। भेटमा महासचिव गुटरेसले भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै जलवायु संकटविरुद्धको प्रयासमा राष्ट्रसंघ नेपालको साथमा रहने प्रतिबद्धता व्यक्त गरेका थिए।