खेलकुद
आईसीसी क्रिकेट विश्वकप छनोट प्लेअफ नेपालमा आयोजना हुने
सन् २०२७ मा आयोजना हुने एकदिवसीय क्रिकेट विश्वकपको छनोट प्लेअफ प्रतियोगिता नेपालमा हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार प्रतियोगिता आगामी डिसेम्बर ४ देखि २१ सम्म काठमाडौंमा सञ्चालन हुनेछ।प्रतियोगितामा आईसीसी क्रिकेट विश्वकप लिग–२ को अन्तिम चारमा रहने टोली तथा च्यालेन्ज लिग ‘ए’ र ‘बी’ का शीर्ष दुई-दुई टोली गरी आठ टोलीले प्रतिस्पर्धा गर्नेछन्।यस प्लेअफबाट शीर्ष चार स्थान हासिल गर्ने टोलीले सन् २०२७ मा दक्षिण अफ्रिका र नामिबियामा आयोजना हुने एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा स्थान बनाउनेछन्।हालसम्म नेपाल, क्यानडा र यूएई लिग–२ बाट प्लेअफमा पुग्ने निश्चित भएको छ। त्यस्तै, च्यालेन्ज लिग ‘बी’ बाट इटाली र युगान्डाले पनि प्लेअफमा स्थान बनाइसकेका छन्। च्यालेन्ज लिग ‘ए’ बाट जर्सी छनोट हुने निश्चित भएको छ भने कुवेतको स्थान पनि लगभग पक्का भएको जनाइएको छ। बाँकी टोलीको टुङ्गो लाग्न भने बाँकी छ।विश्वकप छनोट प्लेअफ नेपालमा आयोजना हुने भएपछि नेपाल र भारत ‘ए’ बीच डिसेम्बर ९, ११ र १३ मा हुने तय भएको क्रिकेट शृङ्खलाको तालिकासमेत परिवर्तन हुने भएको छ।क्यानका अनुसार भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) सँगको समन्वय र सहमतिमा उक्त शृङ्खलाको नयाँ तालिका तय गरी सार्वजनिक गरिनेछ।
एनपीएलको तेस्रो संस्करणमा पहिलोपटक डीआरएस प्रविधि प्रयोग गरिने
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा पहिलोपटक डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रविधि प्रयोग गरिने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार सामाजिक सञ्जालमार्फत यस संस्करणको प्रतियोगितामा डीआरएस प्रविधि समावेश गरिने जानकारी दिएको हो।क्यानका सचिव पारस खड्काले यसअघि नै एनपीएलमा डीआरएस प्रविधि भित्र्याउने तयारी भइरहेको बताएका थिए। उनका अनुसार प्रविधिको प्रभावकारिता र शुद्धता मूल्यांकन गर्न दुई कम्पनीसँग परीक्षणसमेत गरिएको थियो। परीक्षणको नतिजाका आधारमा प्रतियोगितामा यसको प्रयोग गर्ने विषय अघि बढाइएको हो।डीआरएस क्रिकेटमा मैदानमा रहेका अम्पायरले दिएको निर्णयमाथि पुनरावलोकन गर्न प्रयोग गरिने प्रविधि हो। अम्पायरको निर्णयमा असहमति भएमा नियमअनुसार खेलाडी वा सम्बन्धित टोलीले रिभ्यू माग गर्न सक्छन्। यसले विवादास्पद निर्णयको पुनः परीक्षण गरी खेललाई थप निष्पक्ष बनाउन मद्दत गर्छ।क्यानका अनुसार एनपीएलमा एलबीडब्ल्यू (लेग बिफोर विकेट) सम्बन्धी निर्णय पुनरावलोकन गर्न पूर्ण थ्रीडी बल ट्र्याकिङ प्रविधि प्रयोग गरिनेछ। यसका अतिरिक्त रनआउट, स्टम्पिङ र नो बलसम्बन्धी निर्णयको पनि पुनरावलोकन गर्न सकिने व्यवस्था रहनेछ।त्यस्तै, ब्याटमा बल लागेको वा नलागेको पहिचान गर्न कृत्रिम बुद्धिमत्ता (एआई) मा आधारित एज डिटेक्सन प्रविधि प्रयोग गरिने जनाइएको छ। यसले बल र ब्याटबीच सम्पर्क भएको अवस्थाको विश्लेषण गर्न सहयोग पुर्याउनेछ।डीआरएस प्रविधिमार्फत हाइटसम्बन्धी वाइड बलको विश्लेषण गर्नुका साथै प्रहार गरिएका छक्काको दूरी र उचाइ मापन गर्न सकिने सुविधा पनि उपलब्ध हुने बताइएको छ। यसका साथै बलिङसँग सम्बन्धित विभिन्न तथ्यांकसमेत प्राप्त गर्न सकिनेछ।एनपीएलमा डीआरएस प्रविधि भित्र्याउने निर्णयले प्रतियोगिताको प्राविधिक पक्षलाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ। विशेषगरी निर्णायक अवस्थामा हुने अम्पायरका निर्णयलाई पुनरावलोकन गर्न सकिने भएकाले खेलको निष्पक्षता र विश्वसनीयता बढाउन यसले भूमिका खेल्ने विश्वास गरिएको छ।नेपालमा फ्रेन्चाइज क्रिकेट प्रतियोगिताप्रतिको आकर्षण बढिरहेका बेला एनपीएलको तेस्रो संस्करणमा आधुनिक प्रविधिको प्रयोगले खेलको गुणस्तर अभिवृद्धि गर्न तथा दर्शकलाई थप प्रतिस्पर्धात्मक क्रिकेटको अनुभव प्रदान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
लिग–२ मा नेपालको लगातार दोस्रो जीत, ओमानमाथि शानदार जीत
काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले लगातार दोस्रो जीत हासिल गरेको छ ।अल अमिरात क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले घरेलु टोली ओमानलाई ११३ रनले पराजित गरेको हो ।नेपालले दिएको २६४ रनको लक्ष्य पछ्याएको ओमान ४० ओभरमा १५० रनमै अलआउट भयो । ओमानका कप्तान विनायक शुक्लाले ७७ रन बनाए । ४१ रनमा ६ विकेट गुमाएको ओमानका लागि शुक्ला र जे ओडेद्राले सातौँ विकेटका लागि ८३ रनको साझेदारी गरे ।नेपालका कप्तान सन्दीप लामिछाने र नन्दन यादवले तीन–तीन विकेट लिए । दीपेन्द्रसिंह ऐरीले दुई तथा करण केसी र ललित राजवंशीले एक–एक विकेट लिए ।यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २६३ रन बनाएको थियो । नेपालका रोहित पौडेलले ६१, अर्जुन कुमालले ४० तथा ईशान पाण्डे र बसिर अहमदले ३७–३७ रन बनाए । करण केसीले १६ बलमा आक्रामक ४० रन जोडे ।शृङ्खलाको पहिलो खेलमा नेपालले आइतबार क्यानडालाई २४ रनले हराएको थियो ।लगातार दुई जीतसँगै नेपालले लिग–२ मा ३४ खेलबाट २८ अङ्क जोडेको छ । नेपाल छैटौँ स्थानमा छ । ओमान ३० खेलबाट ३३ अङ्कसहित चौथो र क्यानडा ३४ खेलबाट २५ अङ्कसहित सातौँ स्थानमा छन् ।लिग–२ को शीर्ष चारमा पुग्ने सम्भावना गुमाइसकेको नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउन भने शीर्ष छभित्र रहनुपर्नेछ ।
युवा जागरण दौडमा दमक–६ का सरोज सिंह प्रथम
दमक। अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा मिक्लाजुङमा आयोजित युवा जागरण दौड प्रतियोगिता सम्पन्न भएको छ। रास्वपा मिक्लाजुङको आयोजनामा भएको प्रतियोगितामा दमक–६ का सरोज सिंहले प्रथम स्थान हासिल गरेका छन्।प्रतियोगितामा सोनम तामाङ दोस्रो, मनोज गदाल तेस्रो र सागर लिम्बू चौथो भएका छन्। मिक्लाजुङसहित आसपासका क्षेत्रबाट ४२ जना युवाले प्रतियोगितामा सहभागिता जनाएका थिए।प्रथम भएका सरोज सिंहले रु. ६,५५५, द्वितीय सोनम तामाङले रु. ४,३३३, तृतीय मनोज गदालले रु. ३,२२२ तथा चौथो सागर लिम्बूले रु. २,१११ नगद पुरस्कारसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।मिक्लाजुङ गाउँपालिकाका उपाध्यक्ष दिनेश पौडेलले प्रतियोगिताको उद्घाटन गरेका थिए। युवालाई खेलकुदसँग जोड्दै सक्रियता, अनुशासन र सकारात्मक सोचको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।कार्यक्रमका लागि युवा व्यवसायी छत्र डाँगीले रु. १० हजार तथा मोरङ क्षेत्र नं. १ की समानुपातिक सांसद रजनी श्रेष्ठले रु. ५ हजार सहयोग गरेका थिए।यस्तै, १० वर्षभन्दा कम उमेरका सहभागी आहान, आरब श्रेष्ठ र रामेश्वर गोस्वामीलाई हौसला बढाउन जनही रु. ५०० प्रदान गरिएको थियो। रास्वपा मिक्लाजुङका सभापति उपेन लिम्बूले युवाहरूको उत्साहजनक सहभागिताले आगामी दिनमा थप कार्यक्रम सञ्चालन गर्न प्रेरणा मिलेको बताए।
अर्जेन्टिनालाई १–० ले हराउँदै स्पेन बन्यो फिफा विश्वकप २०२६ को च्याम्पियन
स्पेनले अर्जेन्टिनालाई १–० गोल अन्तरले पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ। अमेरिकाको न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा सम्पन्न रोमाञ्चक फाइनलमा अतिरिक्त समयमा गरेको एक गोल नै स्पेनलाई १६ वर्षपछि विश्वकपको उपाधि दिलाउन पर्याप्त बन्यो।निर्धारित ९० मिनेटसम्म दुवै टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा पुगेको थियो। खेलको १०६औँ मिनेटमा फेरान टोरेसले गरेको निर्णायक गोलले स्पेनलाई अग्रता दिलाए, जुन अन्तिमसम्म कायम रह्यो।खेलको निर्धारित समयको अन्त्यतिर अर्जेन्टिनाका एन्जो फर्नान्डेजले दोस्रो पहेँलो कार्ड पाएपछि रातो कार्डसहित मैदान छाड्नुपरेको थियो। त्यसपछि १० खेलाडीमा सीमित अर्जेन्टिनामाथि स्पेनले थप दबाब सिर्जना गर्दै अतिरिक्त समयमा गोल निकाल्न सफल भयो।सम्पूर्ण खेल अवधिभर बल नियन्त्रण र आक्रामक खेलमा स्पेनले पकड जमाएको थियो। अर्जेन्टिनाले केही अवसर सिर्जना गरे पनि स्पेनको रक्षापंक्तिलाई भेद्न सकेन।यससँगै स्पेनले सन् २०१० पछि पहिलो पटक विश्वकपको उपाधि जित्दै आफ्नो दोस्रो विश्वकप ट्रफी उचालेको छ। अर्कोतर्फ, साविक विजेता अर्जेन्टिना लगातार दोस्रो विश्वकप उपाधि जित्ने लक्ष्यमा सफल हुन सकेन।
झापा गोल्डकप: आर्मीलाई पराजित गर्दै मछिन्द्र फाइनलमा, जोनाथन जोरिल्लाको ह्याट्रिक
दमक, झापा । झापा गोल्डकपको चारपटकको उपाधि विजेता त्रिभुवन आर्मी फुटबल क्लबलाई स्तब्ध पार्दै मछिन्द्र फुटबल क्लब प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा मछिन्द्रले आर्मीलाई ४–० को फराकिलो गोल अन्तरले पराजित गरेको हो। मछिन्द्रको शानदार जितमा विदेशी खेलाडी जोनाथन जोरिल्ला नायक बने।मछिन्द्रले खेलको सुरुवातदेखि नै दबाब कायम गरेको थियो। खेलको चौथो मिनेटमै अयोला हमजातको क्रस पासलाई सदुपयोग गर्दै जोनाथन जोरिल्लाले गोल गरी टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। खेलको २४औँ मिनेटमा आर्मीका खेलाडीले डिबक्सभित्र ह्यान्डबल गरेपछि मछिन्द्रले पेनाल्टीको अवसर पायो, जसमा जोरिल्लाले कुनै गल्ती नगरी व्यक्तिगत दोस्रो गोल गरे।दोस्रो हाफमा पनि मछिन्द्रले आफ्नो आक्रामक लयलाई निरन्तरता दियो। ५२औँ मिनेटमा प्रदिप बुढाथोकीको पासमा जोरिल्लाले गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरे भने मछिन्द्रको अग्रता ३–० पुर्याए। खेलको अतिरिक्त समयमा सब्सिच्युट खेलाडी रेजिन सुब्बाले एकल प्रयासमा उत्कृष्ट गोल गर्दै टोलीको जित ४–० मा सुनिश्चित गरे।मछिन्द्रविरुद्ध आर्मीको प्रदर्शन निकै कमजोर देखियो। खेलको नवौँ मिनेटमा नविन लामा र ७०औँ मिनेटमा दिनेश हेन्जनले पाएका सुनौला अवसरहरू सदुपयोग गर्न नसक्दा आर्मी खेलमा फर्कन सकेन। मछिन्द्रका तर्फबाट पनि सौरभ लिम्बु र अभिषेक स्याङतानले केही अवसरहरू गुमाएका थिए।खेलको 'प्लेयर अफ द म्याच' ह्याट्रिककर्ता जोनाथन जोरिल्ला घोषित भए। उनले नगद २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे। यो पुरस्कार अमेरिका निवासी रोशनलाल श्रेष्ठ र उनका साथीहरूले प्रायोजन गर्दै आएका छन्।दर्शकलाई उपहार र पुरस्कार राशी: प्रतियोगितामा दर्शकको आकर्षण बढाउन महेन्द्ररत्न स्टोर्सले दैनिक एक थान टेलिभिजन प्रदान गर्दै आएको छ भने फाइनल खेलको दिन एकजना भाग्यशाली दर्शकलाई यामाहाको स्कुटर प्रदान गरिनेछ।झापा गोल्डकपको विजेताले नगद १५ लाख र उपविजेताले ७ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन्। त्यस्तै, विधागत उत्कृष्ट खेलाडीले यामाहाको मोटरसाइकल तथा उत्कृष्ट प्रशिक्षक, सर्वाधिक गोलकर्ता र गोलकिपरले जनही ३५ हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ। मछिन्द्रले अब उपाधिका लागि फागुन ४ गते हुने फाइनल खेलमा सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ।