खेलकुद
युवा जागरण दौडमा दमक–६ का सरोज सिंह प्रथम
दमक। अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा मिक्लाजुङमा आयोजित युवा जागरण दौड प्रतियोगिता सम्पन्न भएको छ। रास्वपा मिक्लाजुङको आयोजनामा भएको प्रतियोगितामा दमक–६ का सरोज सिंहले प्रथम स्थान हासिल गरेका छन्।प्रतियोगितामा सोनम तामाङ दोस्रो, मनोज गदाल तेस्रो र सागर लिम्बू चौथो भएका छन्। मिक्लाजुङसहित आसपासका क्षेत्रबाट ४२ जना युवाले प्रतियोगितामा सहभागिता जनाएका थिए।प्रथम भएका सरोज सिंहले रु. ६,५५५, द्वितीय सोनम तामाङले रु. ४,३३३, तृतीय मनोज गदालले रु. ३,२२२ तथा चौथो सागर लिम्बूले रु. २,१११ नगद पुरस्कारसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।मिक्लाजुङ गाउँपालिकाका उपाध्यक्ष दिनेश पौडेलले प्रतियोगिताको उद्घाटन गरेका थिए। युवालाई खेलकुदसँग जोड्दै सक्रियता, अनुशासन र सकारात्मक सोचको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।कार्यक्रमका लागि युवा व्यवसायी छत्र डाँगीले रु. १० हजार तथा मोरङ क्षेत्र नं. १ की समानुपातिक सांसद रजनी श्रेष्ठले रु. ५ हजार सहयोग गरेका थिए।यस्तै, १० वर्षभन्दा कम उमेरका सहभागी आहान, आरब श्रेष्ठ र रामेश्वर गोस्वामीलाई हौसला बढाउन जनही रु. ५०० प्रदान गरिएको थियो। रास्वपा मिक्लाजुङका सभापति उपेन लिम्बूले युवाहरूको उत्साहजनक सहभागिताले आगामी दिनमा थप कार्यक्रम सञ्चालन गर्न प्रेरणा मिलेको बताए।
अर्जेन्टिनालाई १–० ले हराउँदै स्पेन बन्यो फिफा विश्वकप २०२६ को च्याम्पियन
स्पेनले अर्जेन्टिनालाई १–० गोल अन्तरले पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ। अमेरिकाको न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा सम्पन्न रोमाञ्चक फाइनलमा अतिरिक्त समयमा गरेको एक गोल नै स्पेनलाई १६ वर्षपछि विश्वकपको उपाधि दिलाउन पर्याप्त बन्यो।निर्धारित ९० मिनेटसम्म दुवै टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा पुगेको थियो। खेलको १०६औँ मिनेटमा फेरान टोरेसले गरेको निर्णायक गोलले स्पेनलाई अग्रता दिलाए, जुन अन्तिमसम्म कायम रह्यो।खेलको निर्धारित समयको अन्त्यतिर अर्जेन्टिनाका एन्जो फर्नान्डेजले दोस्रो पहेँलो कार्ड पाएपछि रातो कार्डसहित मैदान छाड्नुपरेको थियो। त्यसपछि १० खेलाडीमा सीमित अर्जेन्टिनामाथि स्पेनले थप दबाब सिर्जना गर्दै अतिरिक्त समयमा गोल निकाल्न सफल भयो।सम्पूर्ण खेल अवधिभर बल नियन्त्रण र आक्रामक खेलमा स्पेनले पकड जमाएको थियो। अर्जेन्टिनाले केही अवसर सिर्जना गरे पनि स्पेनको रक्षापंक्तिलाई भेद्न सकेन।यससँगै स्पेनले सन् २०१० पछि पहिलो पटक विश्वकपको उपाधि जित्दै आफ्नो दोस्रो विश्वकप ट्रफी उचालेको छ। अर्कोतर्फ, साविक विजेता अर्जेन्टिना लगातार दोस्रो विश्वकप उपाधि जित्ने लक्ष्यमा सफल हुन सकेन।
झापा गोल्डकप: आर्मीलाई पराजित गर्दै मछिन्द्र फाइनलमा, जोनाथन जोरिल्लाको ह्याट्रिक
दमक, झापा । झापा गोल्डकपको चारपटकको उपाधि विजेता त्रिभुवन आर्मी फुटबल क्लबलाई स्तब्ध पार्दै मछिन्द्र फुटबल क्लब प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा मछिन्द्रले आर्मीलाई ४–० को फराकिलो गोल अन्तरले पराजित गरेको हो। मछिन्द्रको शानदार जितमा विदेशी खेलाडी जोनाथन जोरिल्ला नायक बने।मछिन्द्रले खेलको सुरुवातदेखि नै दबाब कायम गरेको थियो। खेलको चौथो मिनेटमै अयोला हमजातको क्रस पासलाई सदुपयोग गर्दै जोनाथन जोरिल्लाले गोल गरी टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। खेलको २४औँ मिनेटमा आर्मीका खेलाडीले डिबक्सभित्र ह्यान्डबल गरेपछि मछिन्द्रले पेनाल्टीको अवसर पायो, जसमा जोरिल्लाले कुनै गल्ती नगरी व्यक्तिगत दोस्रो गोल गरे।दोस्रो हाफमा पनि मछिन्द्रले आफ्नो आक्रामक लयलाई निरन्तरता दियो। ५२औँ मिनेटमा प्रदिप बुढाथोकीको पासमा जोरिल्लाले गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरे भने मछिन्द्रको अग्रता ३–० पुर्याए। खेलको अतिरिक्त समयमा सब्सिच्युट खेलाडी रेजिन सुब्बाले एकल प्रयासमा उत्कृष्ट गोल गर्दै टोलीको जित ४–० मा सुनिश्चित गरे।मछिन्द्रविरुद्ध आर्मीको प्रदर्शन निकै कमजोर देखियो। खेलको नवौँ मिनेटमा नविन लामा र ७०औँ मिनेटमा दिनेश हेन्जनले पाएका सुनौला अवसरहरू सदुपयोग गर्न नसक्दा आर्मी खेलमा फर्कन सकेन। मछिन्द्रका तर्फबाट पनि सौरभ लिम्बु र अभिषेक स्याङतानले केही अवसरहरू गुमाएका थिए।खेलको 'प्लेयर अफ द म्याच' ह्याट्रिककर्ता जोनाथन जोरिल्ला घोषित भए। उनले नगद २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे। यो पुरस्कार अमेरिका निवासी रोशनलाल श्रेष्ठ र उनका साथीहरूले प्रायोजन गर्दै आएका छन्।दर्शकलाई उपहार र पुरस्कार राशी: प्रतियोगितामा दर्शकको आकर्षण बढाउन महेन्द्ररत्न स्टोर्सले दैनिक एक थान टेलिभिजन प्रदान गर्दै आएको छ भने फाइनल खेलको दिन एकजना भाग्यशाली दर्शकलाई यामाहाको स्कुटर प्रदान गरिनेछ।झापा गोल्डकपको विजेताले नगद १५ लाख र उपविजेताले ७ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन्। त्यस्तै, विधागत उत्कृष्ट खेलाडीले यामाहाको मोटरसाइकल तथा उत्कृष्ट प्रशिक्षक, सर्वाधिक गोलकर्ता र गोलकिपरले जनही ३५ हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ। मछिन्द्रले अब उपाधिका लागि फागुन ४ गते हुने फाइनल खेलमा सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ।