सन् २०२७ मा आयोजना हुने एकदिवसीय क्रिकेट विश्वकपको छनोट प्लेअफ प्रतियोगिता नेपालमा हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार प्रतियोगिता आगामी डिसेम्बर ४ देखि २१ सम्म काठमाडौंमा सञ्चालन हुनेछ।

प्रतियोगितामा आईसीसी क्रिकेट विश्वकप लिग–२ को अन्तिम चारमा रहने टोली तथा च्यालेन्ज लिग ‘ए’ र ‘बी’ का शीर्ष दुई-दुई टोली गरी आठ टोलीले प्रतिस्पर्धा गर्नेछन्।

यस प्लेअफबाट शीर्ष चार स्थान हासिल गर्ने टोलीले सन् २०२७ मा दक्षिण अफ्रिका र नामिबियामा आयोजना हुने एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा स्थान बनाउनेछन्।

हालसम्म नेपाल, क्यानडा र यूएई लिग–२ बाट प्लेअफमा पुग्ने निश्चित भएको छ। त्यस्तै, च्यालेन्ज लिग ‘बी’ बाट इटाली र युगान्डाले पनि प्लेअफमा स्थान बनाइसकेका छन्। च्यालेन्ज लिग ‘ए’ बाट जर्सी छनोट हुने निश्चित भएको छ भने कुवेतको स्थान पनि लगभग पक्का भएको जनाइएको छ। बाँकी टोलीको टुङ्गो लाग्न भने बाँकी छ।

विश्वकप छनोट प्लेअफ नेपालमा आयोजना हुने भएपछि नेपाल र भारत ‘ए’ बीच डिसेम्बर ९, ११ र १३ मा हुने तय भएको क्रिकेट शृङ्खलाको तालिकासमेत परिवर्तन हुने भएको छ।

क्यानका अनुसार भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) सँगको समन्वय र सहमतिमा उक्त शृङ्खलाको नयाँ तालिका तय गरी सार्वजनिक गरिनेछ।