दमक। अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा मिक्लाजुङमा आयोजित युवा जागरण दौड प्रतियोगिता सम्पन्न भएको छ। रास्वपा मिक्लाजुङको आयोजनामा भएको प्रतियोगितामा दमक–६ का सरोज सिंहले प्रथम स्थान हासिल गरेका छन्।
प्रतियोगितामा सोनम तामाङ दोस्रो, मनोज गदाल तेस्रो र सागर लिम्बू चौथो भएका छन्। मिक्लाजुङसहित आसपासका क्षेत्रबाट ४२ जना युवाले प्रतियोगितामा सहभागिता जनाएका थिए।
प्रथम भएका सरोज सिंहले रु. ६,५५५, द्वितीय सोनम तामाङले रु. ४,३३३, तृतीय मनोज गदालले रु. ३,२२२ तथा चौथो सागर लिम्बूले रु. २,१११ नगद पुरस्कारसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।
मिक्लाजुङ गाउँपालिकाका उपाध्यक्ष दिनेश पौडेलले प्रतियोगिताको उद्घाटन गरेका थिए। युवालाई खेलकुदसँग जोड्दै सक्रियता, अनुशासन र सकारात्मक सोचको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।
कार्यक्रमका लागि युवा व्यवसायी छत्र डाँगीले रु. १० हजार तथा मोरङ क्षेत्र नं. १ की समानुपातिक सांसद रजनी श्रेष्ठले रु. ५ हजार सहयोग गरेका थिए।
यस्तै, १० वर्षभन्दा कम उमेरका सहभागी आहान, आरब श्रेष्ठ र रामेश्वर गोस्वामीलाई हौसला बढाउन जनही रु. ५०० प्रदान गरिएको थियो।
रास्वपा मिक्लाजुङका सभापति उपेन लिम्बूले युवाहरूको उत्साहजनक सहभागिताले आगामी दिनमा थप कार्यक्रम सञ्चालन गर्न प्रेरणा मिलेको बताए।
Comments