दमक। जिल्ला प्रशासन कार्यालय झापाले चाडपर्व, धार्मिक उत्सव, र्‍याली तथा मूर्ति विसर्जनका क्रममा चर्को आवाजमा डीजे बजाउन र सामाजिक सद्भावमा खलल पुर्‍याउने गतिविधि गर्न प्रतिबन्ध लगाएको छ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले सूचना जारी गर्दै जिल्लामा धार्मिक सहिष्णुता, आपसी सद्भाव र शान्ति सुव्यवस्था कायम राख्न सबै पक्षलाई आग्रह गरेका हुन्।

प्रशासनले धार्मिक स्थलहरूअगाडि होहल्ला गर्ने, जुलुस रोक्ने, उत्तेजक प्रदर्शन गर्ने तथा अविरलगायतका सामग्री फ्याँकेर तनाव सिर्जना गर्ने गतिविधि नगर्न सचेत गराएको छ। साथै, धार्मिक तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्दा तोकिएको मार्ग र समयसीमा पालना गर्न आयोजकहरूलाई निर्देशन दिएको छ।

चर्को आवाजमा डीजे बजाएर ध्वनि प्रदूषण गर्ने तथा सार्वजनिक शान्तिमा खलल पुर्‍याउने गतिविधि नियन्त्रण गर्न सुरक्षा निकायलाई कडा निर्देशन दिइएको प्रशासनले जनाएको छ।

सूचनाको उल्लंघन गरी प्रतिबन्धित गतिविधि गरेको पाइएमा आयोजक तथा सहभागी मात्र नभई डीजे व्यवसायी, उपकरणधनी र ढुवानीमा संलग्न सवारीसाधनका चालक तथा धनीलाई समेत प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी दिइएको छ।

त्यस्तै, शोभायात्रा तथा मूर्ति विसर्जनमा मादक पदार्थ सेवन गरेर सहभागी नहुन र सामाजिक सञ्जालमार्फत भ्रामक सूचना तथा साम्प्रदायिक विद्वेष फैलाउने सामग्री प्रसार नगर्न पनि प्रशासनले आग्रह गरेको छ।

जिल्लाको धार्मिक तथा सांस्कृतिक विविधताबीच कायम सद्भाव र सहअस्तित्व जोगाउन राजनीतिक दल, जनप्रतिनिधि, धार्मिक अगुवा, व्यवसायी तथा सर्वसाधारणलाई सहयोग गर्न जिल्ला प्रशासन कार्यालयले अपिल गरेको छ।