झापा। झापाको बिर्तामोड नगरपालिका–२ रामचोकस्थित बडी ग्यारेजको क्यान्टिनमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ। बिहीबार बिहान भएको आगलागीमा परी क्यान्टिनमा काम गर्ने गौरीगञ्ज गाउँपालिका–२ निवासी ६५ वर्षीय रुद्रबहादुर तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रारम्भिक विवरणअनुसार बिहान करिब ४ः१० बजे विद्युत् सर्ट भएर क्यान्टिनमा आगलागी भएको हो। प्रहरी, दमकल र स्थानीयवासीको सहयोगमा बिहान करिब ४ः३० बजे आगो नियन्त्रणमा लिइएको थियो।

आगलागीबाट क्यान्टिनका भाँडाकुँडा, लत्ताकपडा, तीनवटा खसीबाख्रा र नगद एक लाख रुपैयाँ जलेर नष्ट भएका छन्। प्रारम्भिक अनुमानअनुसार क्यान्टिनमा मात्रै करिब तीन लाख रुपैयाँ बराबरको क्षति भएको छ।

बडी ग्यारेजसँगै जोडिएको राजेन्द्र अग्रवालले सञ्चालन गरेको मार्बल तथा टाइल्सको गोदाममा समेत सामान्य आगलागी भएको जनाइएको छ।

प्रहरीका अनुसार घटनाबाट भएको थप क्षतिको विवरण संकलन भइरहेको छ भने आगलागीको कारणबारे थप अनुसन्धान भइरहेको छ।