दमक। चाडपर्वका बेला शान्ति सुरक्षा कायम राख्न तथा सडक दुर्घटना र सम्भावित आपराधिक गतिविधि नियन्त्रण गर्न इलाका प्रहरी कार्यालय दमकले सवारी साधनको सुरक्षा जाँचलाई तीव्र बनाएको छ।

सवारी साधनको चाप र सर्वसाधारणको आवतजावत बढ्ने समयलाई लक्षित गर्दै प्रहरीले आवश्यक कागजात, चालकको अवस्था र शंकास्पद गतिविधिमाथि निगरानी बढाएको हो।

प्रहरीले चाडपर्वका बेला मादक पदार्थ सेवन गरी सवारी नचलाउन, तीव्र गति नियन्त्रण गर्न र ट्राफिक नियम पालना गर्न चालक तथा सर्वसाधारणलाई आग्रह गरेको छ। साथै, शंकास्पद गतिविधि देखिएमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन अनुरोध गरिएको छ।

चाडपर्वलाई सुरक्षित र व्यवस्थित बनाउन प्रहरीको निगरानीसँगै नागरिकको जिम्मेवार व्यवहार पनि आवश्यक रहेको छ।