नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा पहिलोपटक डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रविधि प्रयोग गरिने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार सामाजिक सञ्जालमार्फत यस संस्करणको प्रतियोगितामा डीआरएस प्रविधि समावेश गरिने जानकारी दिएको हो।
क्यानका सचिव पारस खड्काले यसअघि नै एनपीएलमा डीआरएस प्रविधि भित्र्याउने तयारी भइरहेको बताएका थिए। उनका अनुसार प्रविधिको प्रभावकारिता र शुद्धता मूल्यांकन गर्न दुई कम्पनीसँग परीक्षणसमेत गरिएको थियो। परीक्षणको नतिजाका आधारमा प्रतियोगितामा यसको प्रयोग गर्ने विषय अघि बढाइएको हो।
डीआरएस क्रिकेटमा मैदानमा रहेका अम्पायरले दिएको निर्णयमाथि पुनरावलोकन गर्न प्रयोग गरिने प्रविधि हो। अम्पायरको निर्णयमा असहमति भएमा नियमअनुसार खेलाडी वा सम्बन्धित टोलीले रिभ्यू माग गर्न सक्छन्। यसले विवादास्पद निर्णयको पुनः परीक्षण गरी खेललाई थप निष्पक्ष बनाउन मद्दत गर्छ।
क्यानका अनुसार एनपीएलमा एलबीडब्ल्यू (लेग बिफोर विकेट) सम्बन्धी निर्णय पुनरावलोकन गर्न पूर्ण थ्रीडी बल ट्र्याकिङ प्रविधि प्रयोग गरिनेछ। यसका अतिरिक्त रनआउट, स्टम्पिङ र नो बलसम्बन्धी निर्णयको पनि पुनरावलोकन गर्न सकिने व्यवस्था रहनेछ।
त्यस्तै, ब्याटमा बल लागेको वा नलागेको पहिचान गर्न कृत्रिम बुद्धिमत्ता (एआई) मा आधारित एज डिटेक्सन प्रविधि प्रयोग गरिने जनाइएको छ। यसले बल र ब्याटबीच सम्पर्क भएको अवस्थाको विश्लेषण गर्न सहयोग पुर्याउनेछ।
डीआरएस प्रविधिमार्फत हाइटसम्बन्धी वाइड बलको विश्लेषण गर्नुका साथै प्रहार गरिएका छक्काको दूरी र उचाइ मापन गर्न सकिने सुविधा पनि उपलब्ध हुने बताइएको छ। यसका साथै बलिङसँग सम्बन्धित विभिन्न तथ्यांकसमेत प्राप्त गर्न सकिनेछ।
एनपीएलमा डीआरएस प्रविधि भित्र्याउने निर्णयले प्रतियोगिताको प्राविधिक पक्षलाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ। विशेषगरी निर्णायक अवस्थामा हुने अम्पायरका निर्णयलाई पुनरावलोकन गर्न सकिने भएकाले खेलको निष्पक्षता र विश्वसनीयता बढाउन यसले भूमिका खेल्ने विश्वास गरिएको छ।
नेपालमा फ्रेन्चाइज क्रिकेट प्रतियोगिताप्रतिको आकर्षण बढिरहेका बेला एनपीएलको तेस्रो संस्करणमा आधुनिक प्रविधिको प्रयोगले खेलको गुणस्तर अभिवृद्धि गर्न तथा दर्शकलाई थप प्रतिस्पर्धात्मक क्रिकेटको अनुभव प्रदान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
Comments