दमकस्थित हम्सेदुम्से सामुदायिक वन क्षेत्र हुँदै तस्करी भइरहेको आशंकामा बोलेरो भ्यानबाट ठूलो परिमाणमा सखुवाको काठ बरामद गरिएको छ। हम्सेदुम्से सामुदायिक वनका नवनिर्वाचित अध्यक्ष युवराज दङ्गालको नेतृत्वमा स्थानीयले निगरानी गर्ने क्रममा भ्यानबाट ८ फुटे र ६ फुटे आकारका गरी ५० भन्दा बढी फेन्टा सखुवाको काठ बरामद गरिएको जनाइएको छ। काठ नियन्त्रणमा लिने क्रममा मधुमल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवलदार सन्तोष पाण्डे पनि सोही स्थानमा रहेको स्थानीयले बताएका छन्। उनको उपस्थितिलाई लिएर स्थानीयले शंका व्यक्त गरेपछि केही समय हल्लाखल्ला भएको र त्यसपछि पाण्डे त्यहाँबाट बाहिरिएको स्थानीयको भनाइ छ। बरामद गरिएको काठ तथा घटनाबारे सम्बन्धित प्रहरी र वन कार्यालयबाट आधिकारिक पुष्टि तथा थप अनुसन्धान हुन बाँकी छ। काठ कहाँबाट ल्याइएको हो र घटनामा को–को संलग्न छन् भन्ने विषय अनुसन्धानपछि खुल्नेछ।