झापाको क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसको जनाधार विस्तार गरेका कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राई कांग्रेसको केन्द्रीय राजनीतिमा प्रवेश गर्ने तयारीमा छन्। एमालेको प्रभाव क्षेत्र मानिने यस क्षेत्रमा उनले दुवै स्थानीय तह निर्वाचनमार्फत आफ्नो राजनीतिक आधार बलियो बनाएका छन्।
२०७४ को स्थानीय तह निर्वाचनमा कमल गाउँपालिकाको अध्यक्षमा एमाले उम्मेदवारसँग प्रतिस्पर्धा गर्दै ८ हजार २ सय ७५ मत प्राप्त गरेका राईले २०७९ को निर्वाचनमा १२ हजार ८ सय ६८ मत ल्याएर विजयी भएका थिए। स्थानीय तहमा देखिएको यही चुनावी प्रदर्शनलाई उनको राजनीतिक आधारका रूपमा हेरिएको छ।
नेपाल तरुण दलबाट राजनीतिक यात्रा सुरु गरेका उनी तरुण दल झापाको कार्यवाहक सभापति, कांग्रेस गाउँ सभापति र जिल्ला सदस्य हुँदै अहिले महासमिति सदस्य तथा कोशी प्रदेश समिति सदस्य छन्। कांग्रेसको १४औँ र १५औँ महाधिवेशनमा उनी झापा क्षेत्र नम्बर ५ बाट लोकप्रिय मतसहित महाधिवेशन प्रतिनिधि निर्वाचित भएका थिए। पार्टीभित्र पुस्तान्तरणको बहस चलिरहँदा उनले विशेष महाधिवेशनमा गगन थापा र विश्वप्रकाश शर्माको पक्षमा सक्रिय भूमिका निर्वाह गरेको कांग्रेस वृत्तमा चर्चा छ।
स्थानीय तहमा विकास निर्माणका कामलाई प्राथमिकता दिएको दाबी गर्दै आएका राईले विपक्षी दलसँग प्रतिस्पर्धा गर्न सक्ने र स्पष्ट वक्ताको छवि बनाएका छन्। यही पृष्ठभूमीका आधारमा उनी कांग्रेसको आगामी १५औँ महाधिवेशनमा कोशी प्रदेशबाट आदिवासी जनजाति समूहअन्तर्गत केन्द्रीय सदस्य पदका आकांक्षी बनेका हुन्।
स्थानीय निर्वाचनबाट स्थापित राजनीतिक पहिचानलाई केन्द्रीय तहमा पुर्याउने उनको प्रयासलाई अर्थपूर्ण रूपमा हेरिएको छ। यद्यपि, केन्द्रीय राजनीतिमा उनको आगामी भूमिका महाधिवेशनको निर्वाचन परिणाम र पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धाले निर्धारण गर्नेछ।
Comments