दमक/ ६२ औँ बाल दिवसको अवसर पारेर दमक नगर बाल सञ्जालको आयोजना र दमक नगरपालिकाको आर्थिक सहयोगमा नगरस्तरीय अन्तरविद्यालय गायन प्रतियोगिता सम्पन्न भएको छ। दमक–६ स्थित पशुपति मन्दिरको सभाहलमा आयोजित प्रतियोगितामा नगरपालिका क्षेत्रभित्रका २७ वटा विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो।
बाबालिकामा निहित गायन प्रतिभा प्रस्फुटन गराउने र उनीहरूलाई आफ्नो कला प्रदर्शन गर्ने अवसर प्रदान गर्ने उद्देश्यले आयोजित यस प्रतियोगितामा लालिगुराँस इङ्लिस स्कुलका विद्यार्थी रिदम बस्नेत प्रथम भएका छन्। त्यस्तै, पूर्वाञ्चल मोन्टेसरी स्कुलकी सृजिता गोस्वामी द्वितीय, ग्लोबल स्कुलका सक्षम बस्नेत तृतीय र हिमालय माध्यमिक विद्यालयकी अमिरा विन्दु काफ्ले चतुर्थ भएका छन्।
नगर बाल सञ्जालका अध्यक्ष दिवस वाग्लेको सभापतित्व तथा दमक नगरपालिकाकी नगर उपप्रमुख रेगिना भट्टराई प्रसाईंको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रमको उद्घाटन प्रमुख अतिथि उपप्रमुख प्रसाईंले ब्यानर वाचन गरेर गर्नुभएको थियो।
कक्षा ५ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरूले सहभागिता जनाएको यस प्रतियोगितामा प्रतिस्पर्धीहरूले मौलिक नेपाली लोकभाकाका गीतहरू प्रस्तुत गरेका थिए। प्रतियोगितामा प्रत्येक विद्यालयबाट एक जना विद्यार्थीले मात्र भाग लिएका थिए।
कार्यक्रममा दमक नगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी प्रमुख सरिता भण्डारी, महिला विकास अधिकृत जमुना पौडेल, बिर्तामोड नगर बाल सञ्जालका उपाध्यक्ष इशान्त भट्टराई लगायत नगर बाल सञ्जालका पूर्वपदाधिकारी तथा सदस्यहरूको विशेष उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन दमक नगर बाल सञ्जालकी सदस्य श्रीबिना राईले गरेकी थिइन्।
Comments