दमक । दमक नगरपालिकामा जापानी इन्सेफ्लाइटिस (JE) विरुद्धको खोप अभियानको पहिलो दिन ४ हजार ५१९ जनाले खोप लगाएका छन्। असोज ५ गतेदेखि सुरु भएको अभियानमा ३० वर्षमाथिका नागरिकलाई लक्षित गरिएको छ।

पहिलो दिन खोप लगाउनेमा २ हजार ४९४ महिला र २ हजार २५ पुरुष रहेका छन्। यो लक्षित जनसंख्याको ८.२ प्रतिशत हो। दमकमा ३० वर्षमाथिका करिब ५५ हजार ३४४ जनालाई खोप लगाउने लक्ष्य राखिएको छ।

वडागत रूपमा दमक–१ मा ५६९, वडा नं. २ मा २०९, वडा नं. ३ मा ५३२, वडा नं. ४ मा ४१८, वडा नं. ५ मा ६०५, वडा नं. ६ मा ४५६, वडा नं. ७ मा ४९१, वडा नं. ८ मा ३८१, वडा नं. ९ मा ५८१ र वडा नं. १० मा २७७ जनाले पहिलो दिन खोप लगाएका छन्।

पहिलो दिन सबैभन्दा धेरै दमक–५ मा ६०५ जना र सबैभन्दा कम दमक–२ मा २०९ जनाले खोप लगाएका छन्।

नगरपालिकाले अभियानका लागि सबै वडामा छुट्टाछुट्टै खोप केन्द्र तोकेको छ। असोज ५ गतेदेखि १२ गतेसम्म सम्बन्धित वडाले तोकेको स्थान र मितिअनुसार खोप लगाउने व्यवस्था गरिएको छ। अधिकांश केन्द्रमा बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म खोप लगाइनेछ भने दमक–६ मा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मको समय तोकिएको छ।

लक्षित समूहमा पर्ने नागरिकलाई आफ्नो टोलका लागि तोकिएको खोप केन्द्रमा उपस्थित भई खोप लगाउन नगरपालिकाले आग्रह गरेको छ।