दमकमा ३ दिने ‘दल नायक तालिम’ सम्पन्न
दमक, झापा । दमक स्थानीय स्काउट कार्यालयको आयोजनामा सञ्चालित तीन दिने 'दल नायक तालिम २०८२' भव्य रूपमा सम्पन्न भएको छ। दमक-२ स्थित श्री सरस्वती आधारभूत विद्यालयमा गत फागुन १ गतेदेखि सुरु भएको उक्त तालिम फागुन ३ गते एक विशेष समारोहका बीच सम्पन्न भएको हो।
समापन कार्यक्रम सरस्वती आधारभूत विद्यालयका व्यवस्थापन समिति अध्यक्ष रमेश प्रसाद गुरागाईंको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। तालिममा दमक स्थानीय प्रमुख आयुक्त साजन श्रेष्ठ र राष्ट्रिय प्रशिक्षक शकुन्तला सुब्बाले कोर्ष लिडरको रूपमा प्रशिक्षण प्रदान गर्नुभएको थियो। समापन सत्रमा बोल्दै राष्ट्रिय प्रशिक्षक सुब्बाले दमक तथा झापा स्काउटको ऐतिहासिक पृष्ठभूमि र यसको महत्वबारे प्रकाश पार्नुभएको थियो।
तालिममा दमक नगरपालिकाका १६ दल र पथरी शनिश्चरे नगरपालिकाका ४ दल गरी कुल २० दलको सहभागिता रहेको थियो। जसमा १७ छात्रा र १७ छात्र गरी जम्मा ३४ जना स्काउटहरूले सक्रियतापूर्वक भाग लिएका थिए। तीन दिनसम्म चलेको यस तालिममा सहभागीहरूलाई व्यवहारिक शिक्षा, व्यक्तित्व विकास, र प्रभावकारी रूपमा दल सञ्चालन गर्ने सम्बन्धी विभिन्न सीपहरू सिकाइएको थियो।
समापनका अवसरमा सहभागी स्काउटहरूले तालिमबाट प्राप्त अनुभव र यसले आफ्नो व्यक्तित्व विकासमा पुर्याएको फाइदाबारे धारणा राखेका थिए। स्काउटिङ अभियानलाई स्थानीय तहमा थप सुदृढ बनाउन र दक्ष नेतृत्व उत्पादन गर्न यो तालिम प्रभावकारी रहने आयोजकको विश्वास छ।