पाथीभरामा सात महिनामा एक लाख १३ हजार बढी भक्तजनद्वारा दर्शन
दमक, झापा । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन गर्ने भक्तजनको सङ्ख्या चालु आर्थिक वर्षको सात महिनामा एक लाख १३ हजार बढी पुगेको छ। पाथीभरा क्षेत्र विकास समितिका अनुसार साउनदेखि माघ मसान्तसम्मको अवधिमा कुल १ लाख १३ हजार ४९९ जना भक्तजनले माता पाथीभराको दर्शन गरेका छन्। पाथीभरा दर्शनका लागि मुख्य सिजन मानिने दशैँ र तिहारको समयमा सबैभन्दा बढी भक्तजनको घुइँचो लागेको थियो। समितिको तथ्याङ्क अनुसार कात्तिक महिनामा सबैभन्दा बढी ४२ हजार २६१ जना र असोजमा २९ हजार १७४ जनाले दर्शन गरेका थिए। त्यस्तै मङ्सिरमा १९ हजार १८१, माघमा १० हजार ३२३, पुसमा ५ हजार ९११ र भदौमा ४ हजार ५०३ जना भक्तजन धाम पुगेका थिए भने साउन महिनामा सबैभन्दा न्यून २ हजार १४६ जनाले मात्र दर्शन गरेका थिए।
समुद्र सतहदेखि ३,७९४ मिटरको उचाइमा अवस्थित यस धाममा नेपालका विभिन्न जिल्लासहित भारतको सिक्किम, दार्जिलिङ र पश्चिम बङ्गालबाट समेत ठूलो सङ्ख्यामा तीर्थयात्री आउने गरेका छन्। हिउँद याममा चिसोका कारण दर्शनार्थीको सङ्ख्या केही घटे पनि फागुन लागेसँगै र चैते दशैँ अर्थात् रामनवमी नजिकिँदै गर्दा भक्तजनको चाप पुनः बढ्ने समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले जानकारी दिनुभयो। भक्तजनको आवागमनसँगै पाथीभरामा भेटी सङ्कलन पनि उल्लेख्य भएको छ। चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा पाथीभरामा कुल २ करोड ६ लाख ८८ हजार १०० रुपियाँ भेटी रकम सङ्कलन भएको समितिले जनाएको छ।