समाचार

पाँचथरको दशमी बजारमा ७६औँ ऐतिहासिक प्रजातन्त्र दिवस मेला लाग्ने

पाँचथरको दशमी बजारमा ७६औँ ऐतिहासिक प्रजातन्त्र दिवस मेला लाग्ने

पाँचथर । पाँचथरको तुम्बेवा र मिक्लाजुङ गाउँपालिकाको सङ्गम स्थल दशमी बजारमा आगामी फागुन ६ गतेदेखि ९ गतेसम्म ७६औँ ऐतिहासिक प्रजातन्त्र दिवस मेला २०८२ भव्य रूपमा आयोजना हुने भएको छ। दशमी बजार व्यवस्थापन समितिको आयोजना तथा संयुक्त युवा फूलबारी समूह र अरुणिमा युवा क्लबको सह-आयोजनामा लाग्न लागेको यस मेलामा विविध साङ्गीतिक कार्यक्रम र कलाकारहरूको विशेष उपस्थिति रहनेछ। मेलाको मुख्य आकर्षणका रूपमा फागुन ८ गते विशेष सांस्कृतिक तथा साङ्गीतिक कार्यक्रम आयोजना गरिनेछ, जसमा चर्चित राष्ट्रिय कलाकारहरू अशोक मुकारुङ राई, पवित्रा किराँती, प्रितिका बेघा लिम्बु, अमृत लिम्बु, पारस राई र अनिल थुलुङ लगायतको बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ। साथै 'द भ्वाइस अफ नेपाल'का प्रतिस्पर्धीहरू र स्थानीय कलाकारहरूले पनि आफ्नो प्रतिभा प्रदर्शन गर्नेछन्।मेलाको अवसरमा विभिन्न खेलकुद प्रतियोगिताहरू समेत सञ्चालन गरिनेछ। फागुन ४ गतेदेखि नै सुरु हुने पुरुष नकआउट फुटबल प्रतियोगिताको प्रथम पुरस्कार ५० हजार रुपैयाँ र द्वितीय पुरस्कार २५ हजार रुपैयाँ रहेको छ, जसमा छिमेकी गाउँपालिकाका वडा स्तरीय टोलीहरूले प्रतिस्पर्धा गर्नेछन्। त्यस्तै फागुन ११ गतेदेखि सुरु हुने ब्याडमिन्टन प्रतियोगितामा विभिन्न लेभलका लागि १५ हजार, १० हजार र ८ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ। मेलाको कार्यतालिका अनुसार फागुन ७ गते औपचारिक उद्घाटनसँगै विभिन्न जातजातिका झाँकी प्रदर्शन गरिनेछ भने ८ गते साङ्गीतिक धमाका र ९ गते समापन समारोहका बीच पुरस्कार वितरण गरिनेछ। ऐतिहासिक प्रजातन्त्र दिवसको अवसरमा आयोजना गरिएको यस मेलाले स्थानीय कला, संस्कृति र खेलकुदको प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजक समितिका अध्यक्ष रवि बहादुर राईले व्यक्त गर्नुभएको छ।

२०८२ फागुन ४ • आवर दमक
महाशिवरात्रि विशेष: दमकका शिवालयहरूमा भक्तजनको घुइँचो, पशुपति मन्दिरमा विशेष रौनक

महाशिवरात्रि विशेष: दमकका शिवालयहरूमा भक्तजनको घुइँचो, पशुपति मन्दिरमा विशेष रौनक

दमक, झापा । आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजा-आराधना गरिने पवित्र पर्व महाशिवरात्रि आज देशभरका शिवालयहरूसँगै दमकमा पनि हर्षोल्लासका साथ मनाइँदैछ। दमकका मुख्य धार्मिक स्थलहरूमा बिहानैदेखि श्रद्धालु भक्तजनहरूको ठूलो उपस्थिति रहेको छ।विशेषगरी दमक-६ मा अवस्थित पशुपति मन्दिर (सिद्धकामेश्वर मुक्तिधाम) र धनेश्वर पाञ्चायन मन्दिरमा बिहानैदेखि दर्शनार्थीहरूको लामो लाइन लागेको छ। मन्दिर परिसरहरूमा शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउँदै दर्शन गर्नेहरूको भिड देखिएको छ। फाल्गुन कृष्ण चतुर्दशीको मध्यरातमा भगवान् शिवको उत्पत्ति भएको विश्वासका साथ आजको दिनलाई 'शिवरात्रि' भनिएको हो।पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज मध्यरातमा चतुर्दशी तिथि परेकाले आइतबार नै महाशिवरात्रि मनाउने निर्णय गरिएको हो। दमकका मन्दिरहरूमा दर्शनार्थीको चापलाई ध्यानमा राख्दै स्वयंसेवक र सुरक्षाकर्मीहरू समेत परिचालन गरिएको छ।

२०८२ फागुन ३ • आवर दमक
पाथीभरामा सात महिनामा एक लाख १३ हजार बढी भक्तजनद्वारा दर्शन

पाथीभरामा सात महिनामा एक लाख १३ हजार बढी भक्तजनद्वारा दर्शन

दमक, झापा । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन गर्ने भक्तजनको सङ्ख्या चालु आर्थिक वर्षको सात महिनामा एक लाख १३ हजार बढी पुगेको छ। पाथीभरा क्षेत्र विकास समितिका अनुसार साउनदेखि माघ मसान्तसम्मको अवधिमा कुल १ लाख १३ हजार ४९९ जना भक्तजनले माता पाथीभराको दर्शन गरेका छन्। पाथीभरा दर्शनका लागि मुख्य सिजन मानिने दशैँ र तिहारको समयमा सबैभन्दा बढी भक्तजनको घुइँचो लागेको थियो। समितिको तथ्याङ्क अनुसार कात्तिक महिनामा सबैभन्दा बढी ४२ हजार २६१ जना र असोजमा २९ हजार १७४ जनाले दर्शन गरेका थिए। त्यस्तै मङ्सिरमा १९ हजार १८१, माघमा १० हजार ३२३, पुसमा ५ हजार ९११ र भदौमा ४ हजार ५०३ जना भक्तजन धाम पुगेका थिए भने साउन महिनामा सबैभन्दा न्यून २ हजार १४६ जनाले मात्र दर्शन गरेका थिए।समुद्र सतहदेखि ३,७९४ मिटरको उचाइमा अवस्थित यस धाममा नेपालका विभिन्न जिल्लासहित भारतको सिक्किम, दार्जिलिङ र पश्चिम बङ्गालबाट समेत ठूलो सङ्ख्यामा तीर्थयात्री आउने गरेका छन्। हिउँद याममा चिसोका कारण दर्शनार्थीको सङ्ख्या केही घटे पनि फागुन लागेसँगै र चैते दशैँ अर्थात् रामनवमी नजिकिँदै गर्दा भक्तजनको चाप पुनः बढ्ने समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले जानकारी दिनुभयो। भक्तजनको आवागमनसँगै पाथीभरामा भेटी सङ्कलन पनि उल्लेख्य भएको छ। चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा पाथीभरामा कुल २ करोड ६ लाख ८८ हजार १०० रुपियाँ भेटी रकम सङ्कलन भएको समितिले जनाएको छ।

२०८२ फागुन २ • आवर दमक