दमक/ सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न विगतमा विभिन्न पक्षसँग गरेका सहमतिको समीक्षा गर्दै कार्यान्वयनलाई प्रभावकारी बनाउने निर्णय गरेको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार बसेको बैठकले कार्यान्वयन हुन बाँकी सहमतिका विषयलाई सम्बन्धित निकायबीच समन्वय गरी समयमै टुङ्ग्याउने निर्णय गरेको हो। बैठकमा यसअघि भएका सहमतिमध्ये कार्यान्वयनमा आइसकेका विषयको अवस्थाबारे समेत समीक्षा गरिएको थियो।
बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री, शिक्षा तथा खेलकुदमन्त्री र प्रधानमन्त्री वालेन्द्र शाहका स्वास्थ्य सल्लाहकारलगायत सहभागी थिए।
सरकारले विगतमा विभिन्न पक्षसँग भएका सहमतिको नियमित समीक्षा गरी तिनको कार्यान्वयन अघि बढाउने योजनाअनुसार बैठक आयोजना गरेको जनाएको छ। कार्यान्वयन हुन बाँकी विषयलाई प्राथमिकताका साथ अघि बढाउने निर्णयले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्ने प्रक्रियालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।
Comments