इलाम । मेची करिडोरअन्तर्गत बेलासे–गोलाखर्क भञ्ज्याङ सडक स्तरोन्नति आयोजनाको ठेक्का सम्झौता अन्त्य गरिएको छ। निर्धारित समयभित्र काम सम्पन्न हुन नसकेको र पटक–पटक म्याद थप गर्दा पनि निर्माणमा अपेक्षित प्रगति नभएपछि सडक डिभिजन इलामले ठेक्का तोडेको हो।

केचना–कञ्चनजङ्घा सडकका रूपमा चिनिने मेची करिडोरअन्तर्गत पर्ने उक्त सडक खण्डको ९.५ किलोमिटर स्तरोन्नतिका लागि २७ करोड २२ लाख रुपैयाँ लागतमा ठेक्का सम्झौता भएको थियो। आयोजना २०८० पुस २९ गतेभित्र सम्पन्न गर्नुपर्ने भए पनि पटक–पटक म्याद थप गर्दा समेत भौतिक प्रगति ४७ प्रतिशतमा मात्रै सीमित भएको थियो।

पछिल्लो सात महिनामा निर्माणको प्रगति तीन प्रतिशतभन्दा कम भएपछि पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको सडक डिभिजन इलामले ठेक्का सम्झौता अन्त्य गर्ने निर्णय गरेको हो।

सडक डिभिजन इलामका अनुसार आर्थिक वर्ष २०८१/८२ देखि हालसम्म १२ वटा ठेक्का सम्झौता अन्त्य गरिसकिएको छ। यस क्रममा निर्माण व्यवसायीबाट पेस्कीबापतको २ करोड ३८ लाख रुपैयाँ असुल गरिएको छ। त्यसैगरी, ६ करोड ७९ लाख रुपैयाँ बराबरको कार्यसम्पादन जमानत जफत गर्न सम्बन्धित बैंकहरूलाई पत्राचार गरिएको छ।

ठेक्का अन्त्य गरिए पनि बेलासे–गोलाखर्क भञ्ज्याङ सडकको निर्माणलाई निरन्तरता दिने तयारी गरिएको छ। त्यसका लागि आवश्यक स्रोत सहमति र बहुवर्षीय ठेक्कासम्बन्धी स्वीकृति प्राप्त गरी नयाँ ठेक्का प्रक्रिया अघि बढाइने जनाइएको छ।