दमक। यस वर्षको दसैं अवधिमा देशभर भएका १ हजार ३३९ वटा सवारी दुर्घटनामा परी १२४ जनाको मृत्यु भएको छ भने २ हजार ९८८ जना घाइते भएका छन्। नेपाल प्रहरीका अनुसार असोज २५ देखि कात्तिक ८ गतेसम्म भएका दुर्घटनामा ४३७ जना गम्भीर र २ हजार ५५१ जना सामान्य घाइते भएका हुन्।

मृत्यु हुनेमा ८३ जना पुरुष, ३९ जना महिला, ७ बालक र ५ बालिका छन्। दुर्घटनाको प्रदेशगत विवरणअनुसार कोशी प्रदेशमा सबैभन्दा बढी ३९७ वटा दुर्घटना भएका छन्। काठमाडौं उपत्यकामा १७१, कर्णालीमा १७१, लुम्बिनीमा १६१, सुदूरपश्चिममा १५०, बागमतीमा ११२, गण्डकीमा ९७ र मधेश प्रदेशमा ८० वटा दुर्घटना भएका छन्।

दुर्घटनामा सबैभन्दा बढी मोटरसाइकल संलग्न रहेका छन्। प्रहरीका अनुसार दुर्घटनामा १ हजार ५५२ मोटरसाइकलसहित कुल २ हजार ४८१ वटा सवारी साधन संलग्न थिए। गत वर्षको दसैं अवधिमा देशभर १ हजार ४९२ वटा सवारी दुर्घटना भएका थिए।

ट्राफिक नियम उल्लङ्घन गर्ने ५ हजार ७०३ सवारी साधन कारबाहीमा

दसैं अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने ५ हजार ७०३ सवारी साधनलाई कारबाही गरिएको नेपाल प्रहरीले जनाएको छ। तीमध्ये मादक पदार्थ सेवन गरी सवारी चलाउने २ हजार ७९४, क्षमताभन्दा बढी यात्रु राख्ने १ हजार ८८२ र तीव्र गतिमा सवारी चलाउने ७४६ वटा रहेका छन्।

त्यस्तै, यान्त्रिक परीक्षणसम्बन्धी नियम उल्लङ्घन गर्ने ८८, सवारीको छतमा यात्रु राख्ने ७३, बढी भाडा असुल्ने ५८ र लागूपदार्थ सेवन गरी सवारी चलाउने ५३ वटा सवारी साधनमाथि कारबाही गरिएको छ।

नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेका अनुसार चाडपर्वमा यात्रुको चाप बढ्ने भएकाले चालक अनुमतिपत्र, मादक तथा लागूपदार्थ सेवन, यात्रु क्षमता र सवारीको यान्त्रिक अवस्थाको जाँचलाई प्राथमिकता दिइएको छ। लामो दूरीका सवारीमा दुई जना चालक भए नभएको समेत परीक्षण गरिँदै आएको प्रहरीले जनाएको छ।

चाडपर्व लक्षित सुरक्षा योजनाअन्तर्गत देशभर ४०८ वटा यात्रु सहायता कक्ष र अन्तर्राष्ट्रिय सीमा नाकाका १०८ स्थानमा हेल्प डेस्क स्थापना गरी यात्रुलाई सहयोग प्रदान गरिएको थियो।

दसैंपछि दीपावली, नेपाल संवत् र छठपर्वलाई लक्षित गर्दै प्रहरीले सवारी दुर्घटना न्यूनीकरणका लागि थप सुरक्षा योजना लागू गरेको जनाएको छ। ट्राफिक नियम उल्लङ्घन भएको देखेमा नजिकको प्रहरी कार्यालय वा १०० र १०३ नम्बरमा खबर गर्न प्रहरीले सर्वसाधारणलाई अनुरोध गरेको छ।