बालेन शाह आज चौथो पटक निर्वाचन क्षेत्र आउँदै, मतदातासँग प्रत्यक्ष संवाद गर्ने
दमक, झापा । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा झापा क्षेत्र नम्बर ५ का उम्मेदवार बालेन्द्र शाह (बालेन) आज चौथो पटक आफ्नो निर्वाचन क्षेत्र आउनुहुँदैछ। शाह आज दिउँसो विराटनगर विमानस्थल हुँदै झापा ५ प्रवेश गर्ने कार्यक्रम रहेको उहाँका सचिवालय सदस्य सुरेन्द्र बजगाईंले जानकारी दिनुभयो।
मनोनयन दर्तापछि यसअघि नै तीन पटक झापा ५ पुगिसक्नुभएका शाहले यसपटक पनि दमक, कमल, गौरादह र गौरीगञ्ज क्षेत्रका मतदाताहरूसँग प्रत्यक्ष संवाद गर्ने शैलीलाई नै निरन्तरता दिनुहुनेछ। रास्वपा झापा क्षेत्रीय सभापति भेषराज भट्टराईका अनुसार शाहले औपचारिक सभा भन्दा पनि मुख्य–मुख्य स्थानमा स्थानीयसँग भेटघाट गरी क्षेत्रको अवस्थाबारे जानकारी लिनुहुनेछ। अन्तिम समयमा मात्र आगमनको निश्चित समय र स्थान तय हुने भएकाले सुरक्षा र व्यवस्थापनमा केही चुनौती देखिए पनि मतदाताहरूमा भने निकै उत्साह देखिएको छ।