दमक। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ‘क्यान्डिडेट क्लब’ मा नाम दर्ता गराउँदै स्थानीय युवा तथा सामाजिक अभियन्ता गणेश बास्कोटाले दमक नगरपालिका–९ को वडाध्यक्ष पदमा उम्मेदवारी दिने आकांक्षा व्यक्त गरेका छन्।

बास्कोटाले सुशासन, प्रविधिमैत्री सेवा, पूर्वाधार विकास, रोजगारी र शिक्षा–स्वास्थ्यलाई प्राथमिकतामा राख्दै पाँचबुँदे वाचा पत्र सार्वजनिक गरेका हुन्।

उनले वडाको बजेट तथा योजना निर्माणमा पारदर्शिता कायम गर्ने र प्रत्येक तीन महिनामा सार्वजनिक सुनुवाइ गर्ने प्रतिबद्धता जनाएका छन्। त्यस्तै, वडा कार्यालयको सेवालाई डिजिटल तथा पेपरलेस बनाउने र ज्येष्ठ नागरिक तथा अशक्त व्यक्तिलाई घरदैलोमै सेवा उपलब्ध गराउने योजना अघि सारेका छन्।

पूर्वाधारतर्फ गुणस्तरीय सडक, ढल निकास, सीसीटीभी र सडकबत्तीको व्यवस्था गर्ने, युवालाई स्वरोजगार बनाउन सीपमूलक तालिम तथा बीउपुँजी उपलब्ध गराउने र कृषि उपजको बजारीकरणका लागि हाटबजार तथा सङ्कलन केन्द्र स्थापना गर्न पहल गर्ने उनको वाचा छ।

त्यसैगरी, वडा स्वास्थ्य केन्द्रको सेवा सुदृढीकरण, दमक क्याम्पसको स्तरोन्नतिका लागि पहल तथा वडालाई सफा, स्वच्छ र हरियाली बनाउने योजना पनि उनले सार्वजनिक गरेका छन्।

बास्कोटाका अनुसार उनले दमक हस्पिटल एण्ड रिसर्च सेन्टरमा करिब नौ वर्ष प्रशासनिक प्रमुख/अधिकारीका रूपमा काम गरेका छन्। स्वास्थ्य तथा शिक्षा क्षेत्रसँग सम्बन्धित स्थानीय संस्थामा समेत उनको आबद्धता रहेको छ।

प्रशासनिक अनुभव र युवा जोसलाई वडाको विकासमा उपयोग गर्ने उद्देश्यले आफूले उम्मेदवारीको आकांक्षा राखेको बास्कोटाले बताएका छन्।