चुनावी सरगर्मी: केपी ओली आज झापा आउँदै, फागुन ६ गतेसम्म मतदाताकै बीचमा रहने

O
ourdamak २०८२ फागुन ३
Reads
चुनावी सरगर्मी: केपी ओली आज झापा आउँदै, फागुन ६ गतेसम्म मतदाताकै बीचमा रहने

दमक, झापा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै झापा क्षेत्र नं. ५ मा राजनीतिक सरगर्मी निकै तीव्र बनेको छ। यसै क्रममा नेकपा (एमाले) का अध्यक्ष तथा यस क्षेत्रका उम्मेदवार केपी शर्मा ओली आज पुन: आफ्नो निर्वाचन क्षेत्रका मतदाता भेट्न झापा आउन लाग्नुभएको हो।

अध्यक्ष ओली आज बिहान १० बजेर २० मिनेटमा काठमाडौँबाट भद्रपुर विमानस्थल ओर्लिएर सिधै निर्वाचन क्षेत्रमा प्रवेश गर्ने तालिका छ। आज उहाँले शिक्षक भेला, धिमाल जातिको भेला तथा मुस्लिम समुदायका नागरिकहरूसँग आयोजना हुने छुट्टाछुट्टै कार्यक्रममा सहभागीता जनाउनुहुनेछ। एमाले झापाका सचिव तुलसी कार्कीका अनुसार यी कार्यक्रमहरूपछि ओलीले दमक–२ स्थित आफ्नो अस्थायी निवासमा विभिन्न भौगोलिक क्षेत्रका कार्यकर्ता र आम नागरिकहरूसँग प्रत्यक्ष भेटघाट गर्नुहुनेछ।

पार्टीका केन्द्रीय सदस्य तथा झापा क्षेत्र नं. ५ का चुनावी कमाण्डर देवेन्द्र दाहालका अनुसार ओली फागुन ६ गतेसम्म झापामै रहेर चुनावी अभियानको नेतृत्व गर्नुहुनेछ। यस अवधिमा दमक क्षेत्रका विभिन्न गाउँ र टोलमा पुगेर घरदैलो गर्ने तयारी गरिएको छ। रुट अनुसार हरेक दिन कम्तीमा ६ देखि ७ स्थानमा कार्यक्रमहरू सञ्चालन हुनेछन्। यसअघि पनि ओलीले माघ २३ गते झापा आएर ७ दिनको अवधिमा करिब ८० वटा गाउँको भ्रमण गरिसक्नुभएको छ।

यसैबीच, निर्वाचन परिचालन समिति दमक-३ ले आफ्नो क्षेत्रमा चुनावी अभियानलाई सशक्त बनाउन दुई दिने विशेष भेलाको आयोजना गरेको छ। निर्वाचन आयोगले फागुन ४ गतेदेखि प्रचारप्रसारका लागि अनुमति दिएसँगै एमालेले आक्रामक ढङ्गले चुनावी कार्यक्रम अघि बढाउन लागेको हो। जसअनुसार:

  • फागुन ४ गते: दमक-३ को आमचोकमा बेलुका ४:०० बजे विशाल चुनावी भेला हुनेछ।

  • फागुन ५ गते: बिहान ११:०० बजे दुम्से स्कुल अगाडि र ११:३० बजे तल्लो क्षेत्र टुकुरेस्थित बिजनेस टावरमा अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

पार्टीले आफ्ना सम्पूर्ण कार्यकर्ता, समर्थक र आम मतदाताहरूलाई यी कार्यक्रमहरूमा सहभागी भई अभियानलाई सफल बनाउन आह्वान गरेको छ।

Share this story:

Comments